भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु



काठमाडौँ । धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु भएको छ।

आइतबार राति कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित बोराडाँडी चोकमा यूपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिका–४ का ४८ वर्षीय पदम चन्द गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा राति करिब पौने ११ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मोटरसाइकल चालक गौतम ऐर भने दुर्घटनाबाट सकुशल रहेका छन्।

दुर्घटनापछि ठक्कर दिने भारतीय नम्बर प्लेटको गाडी र चालक घटनास्थलबाट फरार भएका छन्। फरार गाडी र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्