हिरासतबाट थुनुवा फरार प्रकरण : डीएसपी तिमिल्सिनाको नेतृत्वमा छानबिन समिति गठन



धनगढी । कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट आइतबार राति फरार भएका लागूऔषध मुद्दाका थुनुवा संजय नगार्जी अझै पक्राउ पर्न सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीकापुर–१ निवासी ३१ वर्षीय नगार्जी आइतबार राति हिरासतबाट फरार भएका थिए । घटनाको २४ घण्टा बितिसक्दा पनि उनी फेला पर्न नसकेका हुन् ।

फरार नगार्जीको खोजीका लागि प्रहरीले विभिन्न स्थानमा खोज अभियान तीव्र बनाए पनि भेटिएका छैनन् । प्रहरीका अनुसार नगार्जीले पानी खाने बहाना बनाएर हिरासतबाट बाहिर निस्कने क्रममा ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई धकेल्दै भागेका थिए ।
नगार्जी असार ९ गते लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थिए र अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका थिए ।

घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीले फरार अभियुक्तको खोजीका साथै घटनाको आन्तरिक छानबिन पनि सुरु गरेको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

समितिले थुनुवा कसरी भाग्न सफल भयो, सुरक्षामा कहाँ कमजोरी रह्यो र घटनामा कसैको लापरबाही थियो वा थिएन भन्ने विषयमा अनुसन्धान थालेको छ ।

थुनुवा कक्षबाटै अभियुक्त फरार हुनुले घटनालाई थप रहस्यमय र शंकास्पद बनाएको छ । यस घटनाले इलाका प्रहरी कार्यालय टीकापुरको सुरक्षा व्यवस्था र हिरासत व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्