जाँदाजाँदै निर्वाचन आयुक्त भण्डारीको चेतावनी- कानून पारित नभए आगामी निर्वाचन नहुन पनि सक्छ



काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन चालु अधिवेशनभित्रै पारित नभए आगामी निर्वाचन नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन् ।

६५ वर्षे उमेरहदका कारण आजबाट अनिवार्य अवकाश गएका भण्डारीले सोमबार आयोगमा आयोजित आफ्नो बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

चालु अधिवेशनभित्रै कानून पारित नभए अर्को वर्ष हुने निर्वाचन झन् पेचिलो, अप्ठ्यारो र हुनै नसक्ने जोखिम रहेको उनले उल्लेख गरे ।

‘मेरो कार्यकालमा एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार पारेर सम्बन्धित मन्त्रालयमा पेस गरिएको छ। यो पेस गरेको पनि तीन वर्षभन्दा लामो भइसक्यो, जुन संसद्मा अझै पेस हुन सकेको छैन । अहिलेको यो बजेट अधिवेशनमा कानुन आएन भनेदेखि अर्को वर्ष हुने निर्वाचन झन् पेचिलो हुन्छ, गाह्रो हुन्छ र त्यो निर्वाचन नहुन पनि सक्छ,’ सोमबार आयोगमा आयोजित बिदाइ कार्यक्रममा बोल्दै उनले भनेका छन् ।

उनले आफ्नो कार्यकालमा एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा बुझाएको भए पनि तीन वर्षभन्दा बढी समय बितिसक्दा समेत संसदमा पेश हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

भण्डारीले नयाँ निर्वाचन कानूनमार्फत इ-भोटिङ लगायत समयअनुकूल प्रविधि र नयाँ मागहरूलाई समेट्नुपर्ने आवश्यकता औँल्याए । सूचना प्रविधिको विकाससँगै निर्वाचन प्रणालीलाई पनि आधुनिक बनाउन कानूनी आधार आवश्यक रहेको उनको भनाइ थियो ।

आगामी निर्वाचन सम्पन्न गराउन राजनीतिक दल, सरोकारवाला र आयोगबीच प्रभावकारी समन्वय आवश्यक पर्ने भन्दै सबै पक्षलाई मिलाएर अघि बढ्न सक्ने नेतृत्व आयोगलाई आवश्यक रहेको उनको धारणा थियो ।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्