तस्करीविरुद्ध उत्रिए गृहमन्त्री गुरुङ, सीमामा खटिएका सुरक्षा अधिकारीलाई बन्द कोठामा राखेर केरकार



विराटनगर । आइतबार झापाको पूर्वी नाका काँकडभिट्टा र मेची भन्सार कार्यालयको अनुगमनमा पुगेका गृहमन्त्री सुधन गुरुङ समक्ष काँकडभिट्टाकी महिला बन्दना मेचेले सार्वजनिक स्थलमै संगठित रूपमा तस्करी हुने गरेको गुनासो गरिन् ।

मेचेले सीमा क्षेत्रमा सेटिङमै तस्करी हुने गरेको गुनासो गरेपछि गृहमन्त्री गुरुङले तत्कालै एक्सन लिएका छन् । मेचेले गृहमन्त्री गुरुङ समक्ष सुरक्षाकर्मीका ‘घुमुवा’ हरूले मासिक रूपमा कसरी रकम असुल्छन् र पैसा नदिने साना व्यापारीलाई दुःख दिएर ठूला तस्करलाई कसरी स्कर्टिङ गरेर सामान भित्र्याउँछन् भन्ने कुरा बताएकी थिइन् ।

गृहमन्त्री समक्ष उनले ‘हामी जस्ता साना व्यापारीले ल्याएको १०–२० किलो चिनी र कपडा समात्ने तर सेटिङमा आउने करोडौंका सामान बोकेका काला गाडीहरूलाई स्यालुट ठोकेर छोड्ने ? यो कस्तो प्रशासन हो मन्त्रीज्यू ?’ भन्दै प्रश्न गरेकी थिइन् ।

उनले भनेकी थिइन्–‘तस्करीको सामान बोकेका काला सिसा लगाइएका गाडीहरू ९० किलोमिटर प्रतिघण्टाको गतिमा हुइँकिँदा पनि प्रहरीले चेकजाँच गर्दैन । गाडीहरूमा लत्ताकपडा र खाद्यान्न मात्र होइन, लागू औषध र विष्फोटक पदार्थसमेत हुन सक्ने खतरा हुन्छ ।’

उनले तस्करीमा संलग्न केही प्रहरी कर्मचारीहरूको नामसमेत किटेरै जानकारी गराएपछि मन्त्री गुरुङले तत्कालै एक्सन लिएका हुन् ।

मन्त्री गुरुङले मेची भन्सार कार्यालयको निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र भन्सार प्रमुख शिवलाल न्यौपानेलगायतका अन्य प्रशासनिक अधिकारीहरूलाई बाहिरै राखेर सुरक्षा निकायका अधिकारीहरूलाई मात्रै बन्द कोठाभित्र राखेर केरकार गरेको स्रोत बताउँछ ।

छलफलका क्रममा गृहमन्त्रीले इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईं र सशस्त्र प्रहरीका डीएसपी विकास थापाको मोबाइल फोनहरू अनुसन्धानका लागि तत्काल नियन्त्रणमा लिएर ‘फरेन्सिक ल्याब’ (विधि विज्ञान प्रयोगशाला) पठाउन गृहमन्त्रीले निर्देशन दिएको समेत स्रोतको दावी छ ।

गृहमन्त्रीको ठाडो निर्देशामा मेची नगरपालिकाको सीमा क्षेत्र जोरसिमल चेकपोष्टमा खटिएका वरिष्ठ हवल्दार श्याम चौधरी र सहायक हवल्दार नारायण खनालको मोबाइल पनि जफत गरिएको बुझिएको छ ।

गृहमन्त्री गुरुङले भन्सार कार्यालयभित्रै भएको केरकारका क्रममा जनताले सास्ती पाउने र केही सीमित व्यक्तिले तस्करीबाट अकुत सम्पत्ति कमाउने दिन अब सकिएको भन्दै आक्रोश पोखेका थिए ।

विराटनगरको जोगमनी, झापाको भद्रपुर र काँकडभिट्टाजस्ता नाकाहरूबाट संगठित रूपमा हुने तस्करीले स्वदेशी उद्योगलाई धराशायी बनाउँदै आएको छ । सुरक्षा निकायकै मिलेमतोमा सीमा नाकाबाट तस्करी हुँदै आएको विषयमा अनलाइन नेपालले पटक–पटक समाचार प्रकाशित गर्दै आएको छ ।

झापाको भद्रपुर नगरपालिकाको पूर्वतर्फ नेपाल बैंक नजिकैको क्षेत्र र सशस्त्र प्रहरी बलको क्याम्पभन्दा केही दक्षिणतर्फबाट तस्कहरुको समूहले मुख्यगरी सवारी साधनका पार्टपूर्जा, गुट्खा बनाउने कच्चा पदार्थ, लत्ताकपडा, सीटीसी चियामा प्रयोग गरिने प्रतिबन्धित रङ र माछाको अवैध पैठारी गर्ने गरेको स्रोतको दाबी छ ।

एक सय रुपैयाँमा भन्सार लगाउने निर्णय गर्ने वर्तमान सरकारसमक्ष साना सवारी, साइकल र भरियाको प्रयोग गरी सामान ओसार्ने ठूला तस्करहरुलाई कसरी तह लगाउँछ ? भन्ने प्रश्न उब्जिएको छ ।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्