कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधि सभा बैठक स्थगित



काठमाडौं । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बुधबार बसेको बैठक कार्यसूचीमा प्रवेश नगरी सुरु भएको केही समयमै स्थगित भएको हो ।

एमाले सांसद राजेन्द्र राईले सभामुखलाई ‘तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न’ भनी प्रश्न गरेका थिए ।

‘माननीय सदस्य ! तपाईं सभामुखको अपहेलना गर्दै हुनुहुन्छ त्यसो हुँदा तपाईं बस्नूस्,’ सभामुख अर्यालले निर्देशन दिँदै राईलाई रोकेका थिए ।

सभामुखले बोल्न नदिएपछि एमालेका सांसद उठेर विरोध जनाइरहेका छन् ।

सांसद राईको अभिव्यक्तिप्रति रास्वपाकी सांसद ज्वाला संग्रौलाले पनि आपत्ति जनाइन् । उनले सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।

त्यसपछि सभामुखले माफी मागेर आफ्नो भनाइ सच्च्याउन भन्दै राईलाई दोस्रो पटक बोल्न समय दिए। तर, उनले सभामुखको भूमिकामाथि नै प्रश्न उठाउँदै ५ वर्ष सदन चलाउन नसक्ने बताइदिए।

सोही अभिव्यक्तिलाई लिएर पक्ष विपक्षमा बहस भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्