कैदीको कारागारमा सुतेकै अवस्थामा मृत्यु, साउन ११ मा छुट्ने तयारीमा थिए



खोटाङ । जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ।

सवारी ज्यान मुद्दामा दुई वर्षको कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका २३ वर्षीय निसान राईको मृत्यु भएको हो ।

कारागार प्रशासनका अनुसार असार ३० गते राति खाना खाएर सुतेका राई मध्यराति बेहोस अवस्थामा भेटिएका थिए।

उनलाई तत्काल जिल्ला अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला अस्पतालका अनुसार अस्पताल ल्याइपुर्‍याउँदा नै उनको मृत्यु भइसकेको थियो।

मृत्युको कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने अस्पतालले जनाएको छ ।

२०७७ फागुन १६ गते जिल्ला अदालत खोटाङ र २०७८ चैत ७ गतेको उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गाको फैसलाले राई २०८१ साउन २४ गते कारागार चलान भएका थिए । उनले दुई वर्ष जेल र २० हजार जरिवानाको फैसला सुनाएको थियो ।

राईले जरिवाना तिरेको अवस्थामा आगामी साउन ११ गते जेलमुक्त हुन सक्ने अवस्था रहेको थियो।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्