चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

अख्तियारको टंगाल र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार खड्काले पुलको पुनःडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।

खड्काले सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीपछि स्टिङ अपरेसन गरिएको थियो।

त्यसपछि आयोगको टोलीले खड्कालाई दमक नगरपालिका–१ स्थित एक खाजा घरबाट सेवाग्राहीबाट लिएको भनिएको ६ लाख रुपैयाँसहित पक्राउ गरेको हो।

खड्कामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्