रुपन्देहीमा माइक्रो बस दुर्घटना हुँदा सहचालकको मृत्यु, सात जना घाइते
भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस पल्टिँदा सहचालकको मृत्यु भएको छ ।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस बिहीबार बिहान करिब १० बजे अनियन्त्रित भई सडकमा पल्टिँदा सहचालक बुटवल उपमहानगरपालिका–३ निवासी ३० वर्षीय सन्दीप बराल गम्भीर घाइते भएका थिए।
टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भीम अस्पताल, भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यसैगरी दुर्घटनामा सात यात्रु घाइते भएका छन् । घाइते हुनेमा सिद्धार्थनगर–८ की ५० वर्षीया कृष्णकुमारी बेलबासे, सिद्धार्थनगर–८ की ३४ वर्षीया श्रद्धा जोशी, कपिलवस्तुको शिवराज नगरपालिका–२ का १९ वर्षीय प्रकाश गाहा, पाल्पाको रिब्दीकोट गाउँपालिका–६ का ३८ वर्षीय सुनिल थापा, सिद्धार्थनगर–३ (दरखसवा)का २६ वर्षीय कुलदीप गुप्ता, मर्चवारी गाउँपालिका–७ की ५५ वर्षीया शाहाबुन निसा तथा नवलपरासीको सुनवल नगरपालिका–६ की ४१ वर्षीया हेमीसरा खाम्चा रहेका छन्।
घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि भैरहवास्थित सिटी अस्पताल र हेमीसरा खाम्चालाई मणिग्रामस्थित क्रिमसन अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ ।
दुर्घटनापछि फरार भएका माइक्रोबस चालक ४६ वर्षीय छविलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार










