मनसुनजन्य विपद् व्यवस्थापनका लागि सबै निकाय तयारी अवस्थामा रहने



काठमाडौँ, ४ साउन । मुख्यसचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा आइतबार बसेको सचिवस्तरीय बैठकले मनसुनजन्य विपद् तथा सम्भावित महामारी व्यवस्थापनका लागि सबै सरकारी निकाय र सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

बैठकले बाढी, पहिरो, डुबान तथा अन्य मनसुनजन्य विपद्का बेला जनशक्ति, बजेट, राहत सामग्री र प्राविधिक सहयोगको परिचालन सम्बन्धित निकायबीच समन्वयात्मक रूपमा गर्ने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारी वर्षा, बाढीपहिरो र डुबानको जोखिम बढ्दै गएको भन्दै पूर्वतयारी तथा प्रतिकार्यलाई तीव्र बनाइएको जनाएको छ।

प्राधिकरणका अनुसार मनसुन सक्रिय रहेकाले सम्भावित विपद्को प्रभाव न्यूनीकरण गर्न सम्बन्धित निकायहरूबीच समन्वय थप प्रभावकारी बनाइएको छ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले मनसुनजन्य विपद्को प्रभाव कम गर्न सबै सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो। साथै, सम्भावित जोखिम क्षेत्रहरूमा आवश्यक तयारी र उद्धार संयन्त्रलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्