सामाजिक सुरक्षा भत्ता अनियमितता प्रकरणमा तत्कालीन निमित्त प्रमुखसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ, ४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त कार्यकारी अधिकृतसहित ४२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८१/८२ सम्म सामाजिक सुरक्षा भत्ता पाउने योग्यता नभएका व्यक्तिलाई भत्ता वितरण गरी सरकारी रकम हिनामिना गरिएको निष्कर्षसहित मुद्दा दायर गरिएको हो।

आयोगले तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोदकुमार ठाकुर विरुद्ध २९ लाख ४४ हजार रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ। यस्तै वडा अध्यक्ष धमेन्द्रकुमार झा र वडा सचिव उमेश चौधरी विरुद्ध ३२ लाख २४ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

अनुसन्धानका क्रममा भत्ता प्राप्त गर्न अयोग्य व्यक्तिले समेत सामाजिक सुरक्षा भत्ता लिएको पाइएको भन्दै उनीहरुविरुद्ध प्राप्त रकम बराबरको बिगो, जरिवाना र सजायको माग गरिएको आयोगले जनाएको छ।

अख्तियारले उक्त प्रकरणमा संलग्न भनिएका अन्य ३९ जना लाभग्राही तथा हकवालाविरुद्ध समेत विभिन्न रकम बराबरको बिगो दाबी गर्दै सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दर्ता गरेको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम आरोपितहरूलाई कानुनअनुसार सजाय गर्न मागदाबी गरेको जनाएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्