‘कानुन सुधार वर्ष’ सफल बनाउन सबै मन्त्रालयसँग कानुन मन्त्रालयको छलफल



काठमाडौं, ४ असार । चालु आर्थिक वर्षलाई ‘कानुन सुधार तथा निर्माण वर्ष (Law Reform Year)’ घोषणा गरेको कानुन मन्त्रालयले लक्ष्य कार्यान्वयनका लागि आवश्यक तयारीबारे सबै मन्त्रालयसँग छलफल सुरु गरेको छ।

कानुन मन्त्रालयले सोमबार विभिन्न मन्त्रालयका कानुन शाखा तथा महाशाखा प्रमुखहरूसँग छलफल गरेको कानुनमन्त्री सोबिता गौतमको सचिवालयले जनाएको छ। मन्त्रालयका अनुसार यस्तो बैठक प्रत्येक महिनाको पहिलो सोमबार नियमित रूपमा आयोजना गरिनेछ।

मन्त्रालयले आगामी आर्थिक वर्षमा निर्माण गरिने १६६ वटा विधेयक समयमै तयार गरी संघीय संसद्मा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। सोही उद्देश्यका साथ मन्त्रालयहरूबीच समन्वय र तयारीलाई तीव्र बनाइएको जनाएको छ।

मन्त्री गौतमको सचिवालयका अनुसार संसद्लाई आवश्यक विधायिकी कार्य उपलब्ध गराउने र कानुन निर्माण वर्षलाई सफल बनाउने उद्देश्यले नियमित छलफलको प्रक्रिया सुरु गरिएको हो।

कानुन मन्त्रालयले निर्माण गरिने १६६ विधेयकको सूची यसअघि नै संघीय संसद्मा बुझाइसकेको छ। विकास निर्माण र सेवा प्रवाहका लागि सहज कानुनी वातावरण तयार गर्न सरकारले कानुन सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ।

मन्त्रालयले कानुन सुधार तथा निर्माण वर्ष कार्यान्वयनका लागि ९ बुँदे कार्ययोजना समेत तयार गरिसकेको छ। साथै, संसद्मा विधेयकको अभाव हुन नदिने सरकारको प्रतिबद्धता रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्