विज्ञापन क्षेत्रलाई नियामकीय दायरामा ल्याउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना



काठमाडौँ, ४ साउन । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वच्छ, पारदर्शी र पूर्ण रूपमा नियामकीय दायराभित्र ल्याउन सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्।

नेपाल विज्ञापन सङ्घका प्रतिनिधिसँग मन्त्रालयमा भएको छलफलमा उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन विद्यमान कानुन, ऐन तथा नियमको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको बताए।

मन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रको दुरुपयोग रोक्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै गलत अभ्यास नियन्त्रणमा निजी क्षेत्रले पनि सक्रिय भूमिका खेल्नुपर्ने बताए। नियामक निकायले आफ्नो जिम्मेवारीबाट पछि हट्न नपाउने उनको भनाइ थियो।

विगतमा सरकारी विज्ञापन वितरण प्रणालीमा अनियमितता र अपारदर्शिता रहेको उल्लेख गर्दै उनले त्यसलाई सुधार गर्ने काम सुरु भइसकेको जानकारी दिए। इमान्दार र पारदर्शी ढङ्गले व्यवसाय गरेर पनि सफलता हासिल गर्न सकिन्छ भन्ने विश्वास स्थापित गर्न आवश्यक रहेको उनले बताए।

मन्त्री तिमिल्सिनाले सरकारले हालै जारी गरेको राष्ट्रिय विज्ञापन नीति–२०८३ को प्रभावकारी कार्यान्वयनमार्फत विज्ञापन क्षेत्रलाई व्यवस्थित र लाभदायी बनाउने लक्ष्य रहेको बताए। साथै विज्ञापन बोर्डको नियामकीय क्षमता थप सुदृढ बनाइने पनि उनले स्पष्ट पारे।

छलफलका क्रममा उनले सञ्चार क्षेत्रलाई थप स्वच्छ, पारदर्शी र जवाफदेही बनाउन नयाँ कानुन निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिए।

राष्ट्रिय विज्ञापन नीति स्वागतयोग्य : सुदीप थापा

नेपाल विज्ञापन सङ्घका अध्यक्ष सुदीप थापाले पछिल्लो दशकमा नेपालको विज्ञापन बजारमा ठूलो परिवर्तन आएको बताएका छन्। उनले अहिले विज्ञापन बजार अस्वस्थ प्रतिस्पर्धाको चपेटामा परेको र माग तथा आपूर्तिबीचको असन्तुलन चुनौती बनेको उल्लेख गरे।

नेपालमा विज्ञापन, सिर्जनात्मक सामग्री तथा दक्ष जनशक्तिको राम्रो सम्भावना रहेको भन्दै उनले विज्ञापन क्षेत्रलाई समग्र इकोसिस्टमका रूपमा हेर्नुपर्ने धारणा राखे।

थापाले डिजिटल विज्ञापन र ‘इन्फ्लुएन्सर मार्केटिङ’लाई पनि प्रभावकारी रूपमा नियमन गर्नुपर्ने आवश्यकता औँल्याए। राष्ट्रिय विज्ञापन नीति–२०८३ का प्रावधानलाई स्वागत गर्दै उनले त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

उनले नेपालमा विज्ञापन बजारको वास्तविक आकार, लगानी र कारोबार सम्बन्धी विश्वसनीय तथ्याङ्कको अभाव रहेको भन्दै आवश्यक अध्ययन र अभिलेखीकरण गर्नुपर्ने सुझावसमेत दिए। साथै विज्ञापन बोर्डलाई थप सक्षम, आधुनिक र प्रभावकारी नियामक निकायका रूपमा विकास गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्