गणेश नेपालीको मृत्यु प्रकरण छानबिन गर्न न्यायिक समिति गठन
काठमाडौँ । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
समितिमा पूर्व सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व सहसचिव रामुराज कडरिया सदस्य रहेका छन्। मन्त्रिपरिषद्ले समितिलाई सात दिनभित्र घटनाबारे छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
गणेश नेपालीको गत असार २६ गते वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएको थियो। घटनापछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो।
सहमतिको पहिलो बुँदाअनुसार घटनाको सत्यतथ्य तथा निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र समिति गठन गर्ने र सात दिनभित्र प्रतिवेदन पेश गर्ने प्रतिबद्धता जनाइएको थियो। सोही सहमतिअनुसार मन्त्रिपरिषद्ले न्यायिक समिति गठन गरेको हो।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार







