कैलालीकै सर्वोत्कृष्ट प्रहरी बने सहायक हवल्दार चन्द



धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हवल्दार महेश बहादुर चन्द असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले अपराध अनुसन्धान, फरार अभियुक्त पक्राउ तथा सामाजिक अपराध नियन्त्रणमा पुर्‍याएको महत्वपूर्ण योगदानको मूल्यांकन गर्दै सहायक हवल्दार चन्दलाई उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरेको हो।

प्रहरी उपरीक्षक नरेन्द्र चन्दले सहायक हवल्दार चन्दलाई प्रशंसापत्र प्रदान गर्दै उनको उत्कृष्ट कार्यको उच्च कदर गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखामा कार्यरत रहेका सहायक हवल्दार चन्दले गत असार १२ गतेदेखि हराइरहेका बालकको खोजतलास गर्ने क्रममा धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नास्थित कालिका सामुदायिक वनमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानमा सक्रिय भूमिका खेलेका थिए।

उक्त घटनामा संलग्न रही फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी कैलाली गौरीगंगा नगरपालिका–६ निवासी खगेन्द्र कठायतलाई खोजतलासका क्रममा असार २२ गते साँझ धनगढी उपमहानगरपालिका–३ स्थित त्रिनगर नेपाल–भारत सीमा नाकाबाट पक्राउ गर्न सहायक हवल्दार चन्द सफल भएका थिए।

त्यसैगरी, उनले गोप्य सूचनाको आधारमा विभिन्न आपराधिक गतिविधिमा संलग्न ९ जना व्यक्तिलाई पक्राउ गरी सामाजिक अपराध रोकथाम, नियन्त्रण तथा न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरी कार्यालयले सहायक हवल्दार चन्दले संगठनले दिएको जिम्मेवारी इमान्दारी, लगनशीलता र कर्तव्यनिष्ठाका साथ पूरा गर्दै अपराध अनुसन्धान र शान्ति सुरक्षा व्यवस्थापनमा देखाएको सक्रियताको सम्मानस्वरूप उनलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको जनाएको छ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार