देशभरका ११ सडक अवरुद्ध
काठमाडौँ। अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।
नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै ११ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो।
प्रहरीका अनुसार काभ्रे र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ ६ बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
त्यसैगरी इलाममा मेची राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, दोलखामा लामासाघु रामेछाप सडक, रसुवामा पासाडल्यामु र त्रिशूली मैलुङ स्याफ्रुबेसीँ सडक, बाग्लुडमा कालीगण्डकी करिडोर, रोल्पामा घोराही थबाङ सडक, रुकुम पश्चिममा भेरी करिडोर सडक पूर्णरुपमा अवरुद्ध रहेका प्रहरीले जनाएको छ।
त्यसैगरी भोजपुरमा मध्यपहाडी लोकमार्ग र खोटाङमा पनि मध्यपहाडी लोकमार्ग बाढी पहिरोको कारण एकतर्फी भएका प्रहरीले जनाएको छ।
प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको भन्दै सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार







