सामाजिक सञ्जालमा भाइरल रोल्पाका तीन बालिकाले उच्च शिक्षासम्म नि:शुल्क पढ्न पाउने
रोल्पा। सामाजिक सञ्जालमा भाइरल बनेका रोल्पाका तीन बालिकाले उच्च शिक्षा (स्नातक) सम्म नि:शुल्क अध्ययन गर्न पाउने भएका छन्।
वर्षाको समयमा रेनकोट ओढेर विद्यालय जाँदै गरेको भिडियो भाइरल भएपछि उनीहरूलाई स्थानीय बोर्डिङ स्कुल र गाउँपालिकाले नि:शुल्क पढाउने प्रतिवद्धता जनाएका हुन्।
रुन्टीगढी गाउँपालिका-४ टोलबाङका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्ती हाल सुर्पाल बजारमा रहेको एडभान्स चाइल्ड केयर सेन्टरमा अध्ययनरत छन्।
३ वर्षकी सियाँ नर्सरीमा, ५ वर्षकी मनजीता एलकेजीमा र ६ वर्षकी अर्की मनजीता कक्षा एकमा पढ्छिन्। ती बालिकाहरूमध्ये दुई जना एकै घरका र एक जना छिमेकी हुन्। उनीहरूका बुवाहरू रोजगारीका सिलसिलामा विदेशमा छन्।
सहमति अनुसार हाल उनीहरू पढिरहेकै एडभान्स चाइल्ड केयर इङलिस बोर्डिङ स्कुलले कक्षा ६ सम्म नि:शुल्क अध्ययनको व्यवस्था मिलाउनेछ।
विद्यालयका प्रिन्सिपल तेजबहादुर पुनले ती तीनै बालिकालाई कक्षा ६ सम्म नि:शुल्क शिक्षा उपलब्ध गराउने प्रतिवद्धता जनाए।
त्यसैगरी, कक्षा ७ देखि उच्च शिक्षा (स्नातक) सम्मको सम्पूर्ण अध्ययनको जिम्मेवारी भने गाउँपालिकाले लिने भएको छ। रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले बालिकाहरूको उच्च शिक्षासम्मको अध्ययनका लागि आवश्यक व्यवस्था र जिम्मेवारी गाउँपालिकाले लिने प्रतिवद्धता व्यक्त गरे।
समाजसेवी तथा पत्रकार भुवन थापाको समन्वयमा गाउँपालिका अध्यक्ष जनक पुन, प्रिन्सिपल तेजबहादुर पुन र भिडियो खिच्ने लोकेन पुनसहितको टोली बालिकाहरूको घरमै पुगेर आमाहरूसँग नि:शुल्क शिक्षासम्बन्धी सहमति गरेको हो।
पानी परिरहेका बेला गुलाफी, हरियो र पहेँलो रेनकोट ओढेर आफ्नै सुरमा उकालो बाटो हिँडिरहेका यी बालिकाहरूको दृश्य अहिले सामाजिक सञ्जालमा निकै रुचाइएको छ।
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार







