फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित
काठमाडौं । दक्षिण–पश्चिमी फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । बीबीसीका अनुसार, तीव्र हावा र अत्यधिक तापक्रमका कारण आगो नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ ।
दक्षिण–पश्चिम फ्रान्समा तीव्र हावाका कारण डढेलो बोर्दो सहरतर्फ फैलिन थालेपछि अग्निनियन्त्रकहरूलाई आगो नियन्त्रण गर्न निकै कठिन भइरहेको बताइएको छ । एक अधिकारीले डढेलो अझै नियन्त्रणमा आउन धेरै बाँकी रहेको बताएका छन् ।
रातिको समयमा बोर्दोको पश्चिममा रहेका सात सहरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो । शनिबार बिहानसम्म डढेलो बोर्दोबाट करिब ४० देखि ५० किलोमिटर टाढा पुगेको भए पनि हावाले धुवाँ सहरसम्म पुर्याइरहेको थियो । स्थानीयले हावामा डढेको कडा गन्ध महसुस भएको बताएका छन् ।
फ्रान्सको जिरोन्ड र ल्यान्ड्स क्षेत्रबाट मात्रै करिब २ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
उद्धार तथा नियन्त्रण कार्यलाई तीव्र बनाउन फ्रान्स सरकारले सेना परिचालन गरेको छ । सेनाले झाडी हटाउने, आगो फैलिन नदिन फायर ब्रेक निर्माण गर्ने तथा अग्निनियन्त्रकलाई आवश्यक सहयोग गरिरहेको छ ।
यसैबीच, स्पेनमा पनि डढेलोका कारण संकटकाल घोषणा गरिएको छ । यद्यपि मौसममा केही सुधार आएपछि म्याड्रिड बाहिर खटिएका अग्निनियन्त्रकहरूलाई राहत मिलेको अधिकारीहरूले जनाएका छन् ।
स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले अवस्था अझै गम्भीर रहेको स्वीकार गर्दै अगाडि अझै कठिन समय बाँकी रहेको बताएका छन् ।
यसैबीच, भ्यालेन्सिया क्षेत्रका अधिकारीहरूले डढेलोमा परेर एकजनाको मृत्यु भएको पुष्टि गरेका छन् । स्पेनको क्षेत्रीय सरकारले भने कम हावा, बढेको आद्र्रता र घट्दो तापक्रमका कारण आगोको तीव्रता केही कम भएको जनाएको छ । तापक्रम केही घटे पनि तीव्र हावाको सम्भावनाले अझै चुनौती कायम रहेको बताइएको छ । स्पेनको आन्तरिक मन्त्रालयका अनुसार डढेलो सुरु भएयता म्याड्रिड र आभिला क्षेत्रबाट करिब ६० हजार मानिस विस्थापित भएका छन् भने २८ हजारभन्दा बढी मानिस अझै पनि आफ्नै घरभित्र बस्न बाध्य छन् ।
प्रधानमन्त्री साञ्चेजका अनुसार स्पेनमा यस वर्ष अहिलेसम्म करिब १ लाख ३० हजार हेक्टर वन क्षेत्र डढेलोले जलेको जुन विगत एक दशकमा वार्षिक औसत करिब १ लाख हेक्टर क्षेत्र मात्र डढ्ने गरेको थियो ।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार







