प्रश्नपत्र चुहावट विवादपछि भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
नयाँ दिल्ली, ९ साउन । परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर देशभर विद्यार्थीको विरोध चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।
प्रधानले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राजीनामा बुझाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
युवा तथा विद्यार्थीको नेतृत्वमा भएको आन्दोलन, विभिन्न विद्यार्थी संगठन र विपक्षी दलको दबाबबीच प्रधानको राजीनामा आएको हो। आन्दोलनकारीले शिक्षामन्त्रीलाई पदबाट हटाउन माग गर्दै देशका विभिन्न भागमा प्रदर्शन गरेका थिए।
राजीनामापत्रमा प्रधानले युवा तथा विद्यार्थीको भावना र न्यायोचित अपेक्षाको सम्मान गर्दै पद त्याग गरेको उल्लेख गरेका छन्। विद्यार्थीको भविष्य कानुनी विवादमा नपरोस् र उनीहरूले अध्ययनमा ध्यान केन्द्रित गर्न सकून् भन्ने उद्देश्यले राजीनामा दिएको उनको भनाइ छ।
प्रश्नपत्र चुहावट प्रकरणपछि भारतका विभिन्न क्षेत्रमा विद्यार्थी आन्दोलन जारी रहेको छ।
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार







