नवलपुरमा अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु



काठमाडौँ । नवलपुरमा अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिका वडा नम्बर १० स्थित अकलामाई मन्दिर नजिकै चौरमा उनीहरू अचेत भेटिएका थिए ।
पूर्व–पश्चिम राजमार्गको बायाँ साइडमा फेला परेका दुवै जनालाई उद्धार गरी उपचारका लागि नगर अस्पताल भेडाबारी पठाएको प्रहरीले जनाएको छ ।

अस्पताल पुर्‍याएपछि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका सूचना अधिकारी डीएसपी अनिल पण्डितले जानकारी दिए ।

उनका अनुसार, मृत्यु हुनेमा बागलुङको जैमिनी ९ घर भई हाल गैँडाकोट १२ हर्कपुरमा डेरा गरी बस्ने ३८ वर्षीया कबिता राई र भोजपुर घर भई हाल गैँडाकोट १० पितौजी बस्ने अन्दाजी ४५ वर्षीया कान्छी राई छन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान टोली खटिएर घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार