सुनसरी झडपपछि गृहमन्त्रीको सुरक्षा प्रमुखसँग छलफल, घटनाबारे ब्रिफिङ
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरूसँग छलफल गरेका छन्।
सोमबार सिंहदरबारमा गृहमन्त्रीले घटनाको पछिल्लो अवस्थाबारे सुरक्षा निकायबाट ब्रिफिङ लिएका हुन्।
छलफलमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए।
आइतबार राति देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको अवसरमा हिन्दु धर्मावलम्बीले निकाल्ने बोलबम यात्रामा सहभागी एक समूह र अर्को समूहबीच विवाद भएपछि झडप सुरु भएको थियो।
विवादले उग्र रूप लिएपछि सुरक्षाकर्मी समेत परिचालन गरिएका थिए । दुई समूहबीच भएको हिंसात्मक झडपमा स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड र सशस्त्र प्रहरीले ७ राउन्ड हवाई फायर गरेकोगोली चलाएको थियो ।
घटनामा प्रहरी निरीक्षक राकेश राईसहित १० जना नेपाल प्रहरी, ५ जना सशस्त्र प्रहरी र ९ जना स्थानीय घाइते भएका छन्।
मन्दिरमा ठूलो आवाजमा डिजे बजाउने तथा बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दु समुदायको झण्डा राखिएको विषयबाट विवाद चर्किएको सुरक्षा निकायको प्रारम्भिक निष्कर्ष छ।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार







