ओलीलाई ज्ञानेन्द्र शाहीको कटाक्ष- हिजो राजाको इतिहास मेटायौ, आज आफ्नै मेटियो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा–सिस्नेखोला सुरुङमार्गसँग जोडिएको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिलेख हटाइएको विषयमा टिप्पणी गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले राजसंस्थाको पालामा बनेका भौतिक संरचना, सार्वजनिक संस्थान र राजमार्गहरूको नाम तथा इतिहास मेटाउनेहरूले आज आफ्नै इतिहास हटाइँदा दुःख मान्न नहुने भन्दै कटाक्ष गरेका हुन्।
शाहीले भने- ‘नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइयो भनेर अहिले निकै चर्चा भइरहेको छ। तर यसमा दुःख मान्नुपर्ने कुनै कारण छैन। हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए।’
उनले राजसंस्थाको पालामा बनेका संरचना र तिनसँग जोडिएको ऐतिहासिक पहिचान योजनाबद्ध रूपमा मेटाउने प्रवृत्तिकै निरन्तरता अहिले देखिएको दाबी गरे।
‘हिजो राजमार्गहरूको नामसमेत फेरियो। राजाका पालामा बनेका संरचना र त्यससँग जोडिएको इतिहास योजनाबद्ध रूपमा मेटाउने प्रयास तिमीहरूले नै गर्यौ,’ उनले थप उल्लेख गरेका छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास गरेका थिए।
सोही क्रममा राखिएको सुरुङमार्गको शिलालेखबाट तत्कालीन प्रधानमन्त्री ओलीको नाम हटाइएको सरकारमाथि आरोप छ ।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार







