सुनसरीमा युवकको मृत्युपछि देवानगञ्जमा दुई दिन शोक बिदा



सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाले दुई दिन शोक बिदा दिएको छ ।

गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार सोमबार र मंगलबार ९साउन ११ र १२० गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय र शैक्षिक संस्था बन्द रहनेछन् ।

आइतबार राति देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको हो ।

युवकको मृत्यु भएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाको दक्षिण क्षेत्रका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको छ।

सोमबार बिहान ७ बजेदेखि लागू भएको कर्फ्यु अर्को सूचना जारी नभएसम्म कायम रहने प्रशासनले जनाएको छ ।

आइतबार राति देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको अवसरमा हिन्दु धर्मावलम्बीले निकाल्ने बोलबम यात्रामा सहभागी एक समूह र अर्को समूहबीच विवाद भएपछि झडप सुरु भएको थियो।

विवादले उग्र रूप लिएपछि सुरक्षाकर्मी समेत परिचालन गरिएका थिए । दुई समूहबीच भएको हिंसात्मक झडपमा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

यसैगरी गोली लागेर थप अन्य आठ जना घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटनामा ९ जना सर्वसाधारण, नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरीका ५ जना गरी कुल २२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार