मल किन्न गएका दुई नेपाली किसान २४ दिनदेखि भारतीय जेलमा,कांग्रेसले माग्यो तत्काल रिहाइ
काठमाडौं । नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको अविलम्ब रिहाइका लागि कूटनीतिक र कानुनी पहल गर्न सरकारसँग आग्रह गरेको छ।
महामन्त्री प्रदीप पौडेलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सर्लाहीको बलरा नगरपालिकाका किसान सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई तत्काल रिहा गराउन आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
विज्ञप्तिअनुसार नेपालमा समयमै रासायनिक मल उपलब्ध नभएपछि उनीहरू सीमावर्ती भारतीय बजार सोनवर्साबाट दुई बोरा युरिया र डीएपी मल खरिद गरी ल्याउने क्रममा भारतीय सुरक्षा निकायले पक्राउ गरेको थियो।
उनीहरूलाई भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा कारागारमा विगत २४ दिनदेखि राखिएको बताइएको छ।
कांग्रेसले ती किसान व्यावसायिक कारोबारका लागि नभई आफ्नै खेतमा प्रयोग गर्न दुई बोरा मल खरिद गर्न गएको उल्लेख गर्दै परिवार तथा स्थानीय समुदायसँग बुझ्दा घटनाको वास्तविकता पुष्टि भएको जनाएको छ।
विज्ञप्तिमा नेपालमा मल गोदाममै थन्किएको अवस्थामा किसान भने दुई बोरा मलका कारण विदेशी जेलमा बस्न बाध्य हुनु विडम्बनापूर्ण भएको टिप्पणी गर्दै ‘मल गोदाममा, किसान जेलमा’ भन्ने अवस्था अत्यन्त दुःखद रहेको उल्लेख गरिएको छ।
कांग्रेसले सरकारलाई व्यवहारिक, कूटनीतिक र कानुनी माध्यमबाट उनीहरूको तत्काल रिहाइका लागि पहल गर्न आग्रह गरेको छ।
साथै, नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा र दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई ध्यानमा राख्दै खेतीका लागि मलखरिद गर्ने क्रममा पक्राउ परेका किसानलाई मानवीय आधारमा अविलम्ब रिहा गर्न भारत सरकारसँग पनि अनुरोध गरेको छ।
खेतमा प्रयोग गर्ने डीएपी र युरिया मलसहित भारतको सोनबरसाबाट फर्किने क्रममा असार १७ गते पक्राउ परेका सर्लाहीको बलरा–५ निवासी सुरेशप्रसाद र नागेन्द्रप्रसाद लाई असार १८ गते भारतको सीतामढीस्थित डुमरा जेल चलान गरिएको थियो।
पक्राउ परेका उनीहरूको रिहाइका लागि गत शुक्रबार अदालतमा निवेदन दर्ता गरिएको थियो। उक्त निवेदनमाथिको सुनुवाइ साउन १५ का लागि तोकिएको थियो।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार







