विद्यालयमा शिक्षिकाको शव फेला, श्रीमान सम्पर्कविहीन



झापा । झापाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टास्थित अरुणोदय इंग्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–२ की २९ वर्षीया कविताकुमारी ढुंगाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । गुप्ता पर्साको वीरगन्ज महानगरपालिका–१६ निवासी हुन् । श्रीमान्/श्रीमती दुवैजनाले यही वर्ष वैशाखदेखि उक्त विद्यालयमा अध्यापन गरिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं डीएसपी रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

यही साउन ५ गतेदेखि विद्यालयमा बिदा थियो । सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको पाइएको प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलले बताए ।

उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लगाइएको थियो । फोन सम्पर्क हुन सकिरहेको थिएन । “दिनभरि सम्पर्क नभएपछि बेलुका करिब ४ः३० बजे रतन गुप्ता आफैँले मेरो ह्वाट्सएपमा सन्देश पठाएका थिए । सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरेका थिए,” प्रधानाध्यापक लुइँटेलले भने ।

स्थानीयवासीका अनुसार, गुप्तालाई आइतबार अपराह्न ५ बजेतिर दुई झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो । त्यसयता उनी सम्पर्कमा छैनन् ।

डीएसपी अवाले भने, “विद्यालय परिसरभित्र एक महिलाको शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ । मृत्युको कारण यकिन भइसकेको छैन र शवको परीक्षणसहित सबै पक्षबाट अनुसन्धान अघि बढाइएको छ । सम्पर्कविहीन रहेका उनका श्रीमान्‌को पनि खोजी भइरहेको छ ।”

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार