असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको विद्युत्को बिलमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ।
भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकममा पनि अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ।
आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयको स्पष्टिकरणपछि प्राधिकरणले ग्राहकले भुक्तानी गरिसकेको भ्याट रकम आगामी बिलमा मिलान गर्ने व्यवस्था गरिएको जनाएको हो।
प्राधिकरणले विद्युत् खपतका आधारमा मासिक बिलिङ गर्ने भएकाले असारमा खपत भएको विद्युत्को बिल साउनमा जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने विषयमा अन्योल देखिएको थियो। सोही विषयमा स्पष्टता माग्दै प्राधिकरणले साउन ८ गते आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई पत्राचार गरेको थियो।
आन्तरिक राजस्व विभागले सोमबार जारी गरेको सूचनामा असार मसान्तसम्मको विद्युत् खपतको बिलमा भ्याट नलाग्ने स्पष्ट पारेको छ। यद्यपि, साउन १ गतेदेखि भएको विद्युत् खपत तथा न्यूनतम ९डिमाण्ड० शुल्कमा भने भ्याट लाग्ने जनाएको छ।
मूल्य अभिवृद्धि कर ऐनअनुसार अन्तिम उपभोक्ताका लागि ५ प्रतिशत र अन्य उपभोक्ताका लागि १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था छ। विभागले साउन १ गतेपछि हुने विद्युत् सेवामा लागू हुने सबै शुल्कमा नियमानुसार भ्याट लाग्ने स्पष्ट गरेको छ।
यसअघि प्राधिकरणले असारसम्मको खपतमा पनि भ्याट जोडेर बिल पठाएपछि उपभोक्ताबाट व्यापक गुनासो आएको थियो। त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले चासो देखाउँदै समस्या समाधानका लागि आवश्यक पहल गरेका थिए।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार







