कुटपिट प्रकरणपछि नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा



वीरगन्ज । चिकित्सकमाथि भएको कुटपिटको विरोधमा वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले राजीनामा दिएका छन्।

प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन्।

दुवै जनाको राजीनामा नआए देशभरकै चिकित्सकले राजीनामा दिने चेतावनी उनीहरूले दिएका छन्।

अस्पताल स्रोतका अनुसार ७० जना चिकित्सक रहेको उक्त अस्पतालका ४० जनाले राजीनामा बुझाइसकेका छन्।

३० जनाले भने सोमबार राति १० बजे नै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट समक्ष राजीनामा बुझाएका थिए ।

राजीनामा दिने तयारीसहित बाँकी चिकित्सकको पनि हस्ताक्षर संकलन भइरहेको छ ।

असार ९ गते वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा ४५ वर्षीय राजकुमार पटेल मुटुसम्बन्धी समस्याका कारण भर्ना भएका थिए। उनलाई कार्डियाक अरेस्ट भएपछि चिकित्सकले सीपीआरसहित आवश्यक उपचार गरे पनि बचाउन नसक्दा उनको मृत्यु भएको थियो।

मृत्युपछि आफन्तले चिकित्सक र अस्पताल प्रशासनको लापरबाहीका कारण ज्यान गएको आरोप लगाउँदै आकस्मिक कक्षमै चिकित्सकमाथि हातपात गरेका थिए। अस्पताल बाहिर प्रदर्शन र नाराबाजीसमेत भएको थियो।

घटनापछि सुरक्षाकर्मी, प्रमुख जिल्ला अधिकारी र अस्पतालका पदाधिकारीबीच छलफल भएको थियो। छलफलका लागि उपचारमा संलग्न मेडिकल अफिसर डा. प्रमोद रामसहितका चिकित्सकलाई बोलाइएको थियो।

छलफलमा सहभागी हुन जाँदै गरेका डा। प्रमोदमाथि बाटोमै हेल्मेट र ढुंगाले आक्रमण भएको थियो। आक्रमणबाट उनी गम्भीर घाइते भएका थिए। रगताम्य अवस्थामा रहेका उनलाई तत्काल अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गरिएको थियो।

उनको टाउको, घाँटी, ढाड तथा हातखुट्टामा गम्भीर चोट लागेको थियो।

नेसनल मेडिकल कलेज वीरगन्जबाट छात्रवृत्तिमा एमबीबीएस उत्तीर्ण गरेका डा. प्रमोद एक वर्षदेखि नारायणी अस्पतालमा छात्रवृत्ति करारअन्तर्गत कार्यरत थिए।

घटनापछि उपचारमा संलग्न डा. प्रमोदसहित पाँच जना चिकित्सकलाई अस्पताल प्रशासनले निलम्बन गरेको थियो।

अहिले डा. प्रमोदको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

चिकित्सकमाथि आक्रमण हुँदा पनि उल्टै चिकित्सकलाई निलम्बन गरिएको भन्दै अस्पतालका चिकित्सकहरूले विरोध जनाएका हुन। उनीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै देशव्यापी रुपमा ओपीडी सेवा ठप्प पारेका हुन्।

यसैगरी नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछि प्रशासनबाट भएको व्यवहारको विरोध गर्दै मंगलबार देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई कुनै पनि अवस्थामा स्वास्थ्य सेवा बन्द नगर्न निर्देशन दिएको छ। मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा नियमित सञ्चालन गर्न आग्रह गरेको छ ।

साथै, घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढिरहेको जनाएको छ ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार