भोजपुरमा १२ करोड लगानीमा अस्पताल बन्दै


 


naksaध्रुव सुवेदी
भोजपुर, असार २०
पूर्वि पहाडी जिल्ला भोजपुरमा यतिबेला ५० शय्या क्षमताको अस्पताल निर्माण हुँदैछ । अस्पताल निर्माण सम्पन्न भएपछि पूर्वि पहाडकै भोजपुर जिल्ला अस्पताल ठुलो अस्पतालमा गनिने छ ।

१५ शय्याबाट सञ्चालन हुँदै आएको जिल्ला अस्पताल यो भवन बनेसँगै पूर्वि पहाडका सर्वसाधारणलाई स्वास्थ्य सुविधामा थप सहज हुने अनुमान गरिएको छ । यो अस्पतालको भवन शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, धनकुटाले बनाइदिन लागेको हो । गत बर्षको चैत्र २२ गतेबाट भवन निर्माण कार्य प्रारम्भ भएको हो ।

चारतले भवनको डाँफे, सिद्धबाबा, सगरमाथा घिमिरे निर्माण कम्पनीले संयुक्त रुपमा निर्माणको जिम्मा लिएका हुन् । तीन बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी १२ करोड २४ लाख ६५ हजार ८२ रुपैयाँमा उक्त कम्पनीले सम्झौता गरेको हो । सम्झौता अनुसार ०७४ चैत्र २१ गते निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ ।

झण्डै ३६ सय वर्गमिटर क्षेत्र ओगट्ने भवनको ६८ वटा कोठा रहने छन् । शहरी विकास कार्यालयको नक्सा डिजाइन अनुसार बेसमेन्टमा नौ कोठा, ग्राउण्ड तलामा २७ कोठा रहने छन्, जहाँ इमरजेन्सी, ओपीडी, र इमरजेन्सी अपरेशन हुनेछ ।

भवनको पहिलो तलामा २६ र दोस्रो तलामा ९ कोठा रहने डिभिजन कार्यालय धनकुटाले जनाएको छ । अस्पताल संवेदनशिल क्षेत्र भएकोले निर्माण कार्य द्रुत गतिमा अगाडी बढाउने कम्पनीका निर्माण ब्यवसायी कुमार वाग्लेले बताए । अढाई बर्ष भित्र हामी यो भवन निर्माण सक्छौ, व्यवसायी वाग्लेले भने ।

यतिबेला भवनका लागि जग्गा सम्याउने र गहिराउने काम धमाधम हुँदैछ । नयाँ भवन अहिले अस्पताल भएकै ठाउँमा बन्दैछ । यतिबेला पुरानो अस्पताल भत्काउन थालिएको छ भने अस्पताल छेउमै रहेको प्रसृति गृहको भवनबाट विरामीको उपचार हुन थालेको छ ।

निर्माण कार्य सम्पन्न गर्न झण्डै तीन बर्ष लाग्ने भएपछि अस्पतालको सुविधा सुचारु गराउन ट्रष्ट राखेर बैकल्पिक अस्पताल निर्माण शुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण साहले बताए । जिल्ला अस्पतालमा भौतिक सुविधा कम हुँदा दैनिक सेवा सुचारुमा कठिन हुँदै आएको थियो ।

अझ शय्या अभाव हुँदा भुँइमै राखेर विरामीको उपचार हुँदै आएको थियो । स्थानीयवासीले पटक–पटक भौतिक सुधार र शय्या बढाउन माग राख्दै आएका थिए । ढिलै भएपनि अस्पतालको भौतिक सुधार हुन थालेपछि स्थानीयवासी हर्षित भएका छन् ।

भौतिक सुधारसँगै अस्पतालले दिने सेवा सुविधामा बृद्धि हुने अस्पताल विकास समितिका अध्यक्ष भरत तामाङले बताए । जिल्लाकै प्रमुख अस्पताल मानिने जिल्ला अस्पताल आफै विरामी थियो ।

साना तिना उपचार गर्न पनि सदरमुकाम बाहिर धाउन सर्वसाधारण बाध्य थिए । जसका कारण विरामी अकाल मृत्युवरण गर्न बाध्य थिए । थोरै दरबन्दी हुन्, भएका दरबन्दीमा डाक्टर नआउनु, आएका पनि समयसम्म नबस्नाले सर्वसाधारणको स्वास्थ्यमा खेलबाड हुँदै आएको थियो ।

अस्पतालको भौतिक सुधारसँगै ५० शय्याको अस्पताल बनाउनु पर्ने नागरिक समाज भोजपुरका सह–संयोजक नेत्रविनोद लुइँटेलको भनाई छ । भौतिक सुधार शुरु भएको छ, अव यसलाई ५० शय्याको बनाउन पहल थाल्नु पर्छ, लुइँटेल भन्छन्, यो ठाउँमा यतिको सुविधा भए छिमेकी जिल्लाका विरामी पनि सामान्य उपचारका लागि राजधानी र तराई धाउनु पर्ने बाध्यता हट्छ ।

यतिबेला अधिकांश पूर्वि पहाडका जिल्ला अस्पतालहरु आफै विरामी छन् । भिडियो एक्सरे गराउन समेत राजधानी र तराई धाउनु पर्ने बाध्यता छ । भोजपुरमा शुरु भएको जिल्ला अस्पतालको भवन निर्माणसँगै सेवा सुविधा थपिए यो समस्याको समाधान हुने यी जिल्लाका सर्वसाधारणको भनाई छ । भवनको गत जेठ महिनामा सभासद जयन्ती राईले शिलान्यास गरेकी थिईन् ।

यो पनि हेर्नुहोस्

यस्तो बन्दैछ भोजपुर अस्पताल (फोटो फिचर)

प्रकाशित मिति: २० असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्