बाढीले पावरहाउस बगाउँदा गाउँ अन्धकार


 


खोटाङ, असार २१

बाढीले तीन साना लघुजलबिद्युत आयोजनाको पावरहाउस बगाउँदा खोटाङको खिदिमा र टेम्मामा बिद्युत अवरुद्ध भएको छ । शनिबार राती खोबु र तावा खोलामा आएको बाढीले खिदिमा–७ स्थित १७ किलोवाट क्षमताको तावा खोला तेश्रो लघुजलबिद्युत आयोजना, खिदिमा–२ सोल्मास्थित ९.५ किलोवाटको खोबुखोला लघुजलबिद्युत आयोजना र टेम्मा–९ मा रहेको ९ किलोवाटको सञ्चहिरा साना लघुजलबिद्युत आयोजनाको पावरहाउस बगाएको छ ।

बिभिन्न दाताको सहयोगमा स्थानीयले सञ्चालनमा ल्याएको तावा खोला तेश्रो लघुजलबिद्युत आयोजनाको पावरहाउस बगेपछि खिदिमा–४, ५, ६, ७ र ८ तथा मात्तिम–९ र छितापोखरी–९ का २४३ घर बिद्युत बिहिन बनेको आयोजनाका कोषाध्यक्ष युवराज कट्वालले बताए ।

यस्तै, खोबुखोला लघुजलबिद्युत आयोजना ध्वस्त भएपछि खिदिमा–१ र २ का ७५ घर अन्धकार छाएको छ । सञ्चहिरा साना लघुजलबिद्युत आयोजनाको पावरहाउस बग्दा टेम्मा–९ का करिब सय घर उपभोक्ता अन्धकारमा बस्न बाध्य भएको स्थानीय शिक्षक पञ्चुुकुमार राईले जानकारी दिए ।

प्रकाशित मिति: २१ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्