बाबु विदेशमा बेपत्ता, आमा अर्कैसँग : अब छोरीलाई कसले हेर्छ ?


 


रामेछाप, असार २२

‘कति सजिलो छ है अर्काकी छोरी ल्यायो, आफ्नो थर उसको नामको पछाडि जोडिदियो अनि उसलाई छोराछोरी जन्माउने साधन बनाउन ?’ रामेछापको रामपुर गा.वि.स ६ खानीडाँडाका मोतीबहादुर याक्चे मगरको यो आक्रोश अरु कसैलाई नभएर आफनै भाइ मिनबहादुरप्रति हो ।

भाइ मिनबहादुर रोजगारीका लागि मलेसिया गएको १० वर्ष भयो । ३ वर्षसम्म त घर परिवारसँग सम्पर्क पनि भइरहेको थियो । तर त्यसपछिका ७ वर्ष न सम्पर्क छ, न त कुनै खबर नै ।

विदेश जाने बेला मीनबहादुरकी श्रीमती गर्भवती थिइन । त्यसपछि जन्मिएकी छोरी अहिले ५ कक्षामा पढ्छिन् । तर बाबुको अत्तोपत्तो छैन ।

मिनबहादुरका दाजु मोतीबहादुरसँग सुनाउने कुरा धेरै छन् । ‘अब त छोरीले बाबा खोई भनेर सोध्न थालिसकी, उसलाई हामीले के जवाफ दिने’ छोरीले मात्रै होइन ६५ वर्ष पुगिसकेका बाबुआमाले पनि उहाँको बाटो हेरिरहनुभएको छ । तर एक दिन दुई दिन गर्दा बुबाआमाको ज्यान छोराकै पिरले सुक्न थालिसक्यो । छोरो आउला की भन्ने आश अझै मरेको छैन ।

बुबाआमा र छोरीको आशा बोकेर मोतीबहादुर भाइको खोजीमा भौंतारिरहनुभएको छ । तर उहाँलाई मात्रै होइन, परिवारका कसैलाई नै थाहा छैन मिनबहादुर कुन म्यानपावरबाट गएका हुन भन्ने । गएको तीन वर्षसम्म परिवारसँग सम्पर्कमै थिए । त्यसैले परिवारले पनि गएको म्यानपावरको नाम सोधेनन् ।

विदेश गएपछि मीनबहादुरले जाँदाको ऋण नब्बे हजार पनि तिरे । ‘तर त्यसपछि करार अवधि सकिएपछि दुतावासमै गएर पासपोर्ट बनाउँछु नागरिकता पठाइदिनु भन्यो मैले पठाइदिएँ ’ मोतीबहादुरले सुनाउनुभयो, ‘तर उसले त यसैलाई अन्तिम बोली बनाइदियो ।’

‘ओइरो माथिको पहिरो भनेको यही होला’ मोतीबहादुरका आँखा भरिए ‘अहिले त तीन महिना मात्रै भयो बुहारी पनि अर्कैसँग गइन ।’ सुरु सुरुमा त मीनबहादुरले पनि श्रीमतीलाई फोन गरिरहन्थे । तर पछि फोन गर्न छाडे ।

उज्यालो अनलाइनबाट

प्रकाशित मिति: २२ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्