Deshko News
१६ आश्विन २०८०, मंगलबार

विदेश जानेलाई सामी परियोजना वरदान साबित



गौशाला, जेठ २४

महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीका लागि विदेसिनेका निम्ति जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना वरदान साबित भएको छ ।

विगत ३ वर्षदेखि नेपाल सरकार तथा स्विस सरकारको सहमतिमा श्रम तथा रोजगार मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समझदारीमा जिल्ला समन्वय समिति, महोत्तरीमा सञ्चालित सामी परियोजना जिल्लाका हजारौँ युवाका लागि वरदान साबित भएको हो ।

सामी परियोजनाले २०७१ सालदेखि महोत्तरीबाट वैदेशिक रोजगारीमा जाने युवायुवतीको वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउने उद्देश्यले सूचना तथा परामर्श केन्द्र स्थापना गरेर सेवा प्रदान गर्दै आएको परियोजना संयोजक कमलेश सिंहले बताउनुभयो ।

सामीले वैदेशिक रोजगारीलाई सहज, सुलभ र भरपर्दो बनाउन जिल्ला सदरमुकाम जलेश्वरमा सूचना तथा परामर्श सेवा प्रदान गर्नाका साथै जिल्लाका विभिन्न १५ वटा साबिकका गाविसमा नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च तथा विद्यालय अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्दै आएको संयोजक सिंहले बताउनुभयो ।

सामीले जिल्लाका गाउँगाउँमा सूचना, परामर्श, गोष्ठी, भेला तथा अभिमुखीकरणजस्ता कार्यक्रम गरेर समुदायस्तरमा वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ भने सामीको जनचेतनामूलक कार्यक्रमको फलस्वरुप महोत्तरीबाट वैदेशिक रोजगारीमा जाँदा स्थानीयस्तरमा हुने गरेका ठगीबाट बच्नुका साथै सीप विकास हुने तथा विदेशमा रहेकाको समस्या समाधानका लागि पहुँचमा अभिवृद्धि गराएको छ ।

सामीले खाडी मुलुकलगायत वैदेशिक रोजगारीमा जाँदा कति पैसा लाग्ने, कसरी जाने, के सम्झौता गर्ने गराउने, कस्तो सीप सिक्ने, ठगीबाट कसरी जोगिने, कुन देशमा कस्तो हावापानी छ भन्ने लगायतका विभिन्न विषयमा निःशुल्क सूचना तथा परामर्श दिएर महोत्तरीबाट हजारौँको सङ्ख्यामा विदेसिनेका लागि वास्तवमै वरदान साबित भएको सर्वसाधारणको बुझाइ रहेको छ । रासस

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News