विधुर प्रेम


 


कविता राई

दु:खको एउटा रुप
अनुभूतिको आकाशै फिजाएर
छामे पनि,
सागरै खन्याएर भिजाए पनि
अलिकति ओसिएन हृदय
तिम्रो विधुर प्रेम !!

भोक उस्तै थियो
शोक उस्तै थियो
अविरल वर्षे झरीको
कुटाइमा
खुइलिएको देह
सिङ्गै घाम निलेपनि
अलिकति रापिएन
आस्था र निष्ठामा राजनिति
तिम्रो विधुर प्रेम !

प्रणय विर्सिएको सानिध्य
आत्मियता विहिन स्पर्श
स्वार्थको रूखो चुम्वन
मेरो नाममा वर्षाएको
राहतको प्रेमील मनसुनी वर्षा
कहाॅ विलायो प्रतिशतमा ?
अहॅ मलाई बाछिटालेसम्म छोएन
तिम्रो विधुरप्रेम !!

कुन समय थियो त्यो ?
हल्लिएको मेरो भाग्य,
कति महिना भयो ?
कति वर्ष भयो ?
विर्षियो यो अनपढले ।
ल्याप्चे हान्दै गैयो
कागजका पानाहरूमा
मेरो नामको खाद्यान्य
गोदाममा कुहेर के भो ?
नागरिकता ओछ्याएर
राष्ट्रियता पिएर
अघाइरह्यो- अघाइरह्यो
यो आशुतोष पहाड
तर,
वारपाक जस्तै खण्डहर
यो मन
अझै छाप्रामूनि अझै पालमूनि
एक युगको इतिहास पुस्ता
तिम्रो विधुर प्रेममा सम्मोहित छु !!!

पाँचधारे भोजपुर

प्रकाशित मिति: २८ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्