को लुकाउँछ भन्सार छुटका औषधि ?


 


काठमाडौं, असार २७

भूकम्पबाट घाइतेको उपचारका लागि विभिन्न देशबाट भन्सार छुटमा भित्र्याइएका करोडाैं मूल्यबराबरका औषधि कहाँ र कसरी प्रयोग भयो भन्ने विवरण सरकारलाई अझै उपलब्ध हुन सकेको छैन। भूकम्पपछि विभिन्न सरकारी निकाय, संघसंस्था तथा व्यक्तिले घाइतेको उपचारनिम्ति राहतका रूपमा भन्सार छुट गराएर औषधि भित्र्याएका थिए।

तर, कसैले पनि औषधि वितरणको विवरण सरकारी निकायलाई बुझाएका छैनन्। औषधि भित्र्याएको एक महिनाभित्र राहत वितरणको पत्र जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गराई भन्सारमा बुझाउनुपर्ने सरकारी नियम रहेको नागरिकमा खबर छ।

‘भूकम्प गएपछि सुरुका केही दिन स्थिति भद्रगोल नै रह्यो। कसले, कति औषधि भन्सार छुटमा भित्र्यायो, कहाँ लग्यो, कसैलाई थाहा छैन। स्वास्थ्य विभागलाई प्राप्त औषधिको आँकडा हामीसँग छ।

संघसंस्था र व्यक्तिले लगेका औषधिको विवरण हामीसँग छैन। यस्ता संघसंस्था तथा व्यक्तिले लगेको औषधि बढी भयो भनेर फिर्ता गरेका पनि छैनन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गुणराज लोहनीले भने। वैशाख १२ गतेको भूकम्पपछि जेठ २० गतेसम्म विभिन्न भन्सार नाकाबाट भन्सार छुटमा औषधि भित्रिएको हो।

सरकारले जेठ २० भित्र भित्रिने राहत सामग्रीमा भन्सार छुट दिने निर्णय गरेको थियो। १३ वटा भन्सार नाकाबाट पूर्ण भन्सार छुटमा भित्रिएका राहत सामग्रीको सूचीमा औषधिको परिमाण निकै ठूलो छ।

सरकारी निकाय, संघसंस्था तथा व्यक्तिले केजी, बाकस, कार्टुन, पत्ता उल्लेख गरी औषधि भित्र्याएका छन्, जसअनुसार ३ लाख २४ हजार १ सय ४५ केजी, ३ लाख ७८ हजार ७ सय ८० पत्ता, ५३ हजार ७६ कार्टुन र १ हजार ९६ बाकस औषधि भूकम्पका घाइतेका लागि राहत भन्दै भन्सार छुटमा नेपाल भित्रिएको छ। यस बाहेक थप २ गाडी औषधि पनि भूकम्पका घाइतेको नाममा भन्सार छुटमा नेपाल भित्रिएको छ।

प्रकाशित मिति: २७ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्