महाधिवेशनको १६ महिनापछि संसदीय र अनुशासन समिति गठन गर्दै कांग्रेस


 


काठमाडौं, साउन ८

नेपाली कांग्रेसले संसदीय समिति र केन्द्रीय अनुशासन समिति गठन गर्ने तयारी गरेको छ। पार्टीको विधानअनुसार महाधिवेशनको दुई महिनामा गर्ने काम १६ महिनापछि सुरु गर्न लागेको हो ।

कांग्रेसको विधानले महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र सवै विभाग र समितिहरु गठन गरिसक्ने व्यवस्था छ । कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले कस्को नेतृत्वमा बन्ने भन्ने निक्र्योन नभएको भएपनि आजभोलिमै दुईवटै समिति गठन हुने सम्भावना रहेको बताए ।

उनका अनुसार कांग्रेसको संसद् तथा सवै निकायका उम्मेदवारलाई टिकट दिने संसदीय समिति दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनबाट नैं क्रियाशील बनाउनेगरी गठन हुन लागेको हो।

संसदीय समिति गठन भएपछि केन्द्रीय समितिले मापदण्ड बनाउन मात्र पाउँछ। उम्मेदवार छान्ने अधिकार संसदीय समितिलाई हुन्छ। त्यस्तै, पार्टीभित्र अन्तरघातको प्रश्न उठिरहेका बेला तेस्रो चरणको चुनावअघि नै कांग्रेसले केन्द्रीय अनुशासन समिति गठन गर्न लागेको छ ।

केन्द्रीय अनुशासन समितिले पार्टीका जुनसुकै तह वा निकायमा भएका नेता कार्यकर्तालाई कारबाही गर्न सक्छ तर त्यसको कार्यान्वयन केन्द्रीय समितिले गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति: ८ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्