फेवातालमा जीप खस्यो, भोजपुरका रामप्रसाद राईको मृत्यु, पाँच घाइते


 



पोखरा, साउन १५
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर–२६ सेदीबगरमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् ।

पर्यटकीय स्थल पामेबाट पोखरातर्फ गइरहेको ग.१ य. ८७९ नम्बरको जीप सेदीबगर नजिकबाट तल फेवातालमा खस्दा भोजपुर दुम्माना घर भई पोखरा बस्दै आएका रामप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका राईलाई उद्दार गरि उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा थप पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भोजपुर घर भई पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० बुद्धचोक बस्ने विष्णु राई र सोही स्थान बस्ने भक्तबहादुर राईको पोखरा गैह्रापाटनमा रहेको फिस्टेल हस्पिटलको आईसियुमा राखेर उपचार भइरहेको छ ।

सामान्य घाइते ३ जनाको पनि सोही हस्पिटलमै उपचार भइरहेको छ । सेदीबगरबाट करिब ५०–६० मिटर तल फेवातालमा जीप खसेको थियो । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्