कथा : सुराकी 



-कुमार काफ्ले

गाउँमा कसैलाई आपत विपत पर्यो कि सबैले दयाराम सरलाई गुहार्थे । उनले सात वर्ष सरकारी विद्यालयमा पढाएर छोडेपनि सानादेखि ठूलासम्म सबैले सम्मानपूर्वक दयाराम सर न‌ै भन्थे ।

चौबीसै घण्टा कहाँ जान्छ , के गर्छ , कोकोसँग सम्पर्क र उठबस छ , के पढ्छ , के बोल्छ ? ईत्यादि कुराको सुनियोजित ढंगले चियोचर्चो र सुराकी हुन थालेपछि आफूलाई युगले सुम्पिएको अभिभारा पूरा गर्न यही सरकारी जागिरमा अडिएर असंभव हुने ठम्याइ , कार्यालयले पटकपटक लिएको स्पष्टीकरण र दिनुपर्ने बयान , सार्वजनिक मुद्दा र झन्झटिलो तारिकको कारण उनी घरपायकको जागिर छोडेर आफ्नो मनले अह्राएको कर्ममा तल्लीन भएका थिए ।

दयारामको सम्पर्क पनि अनौठा मान्छेहरूसँग थियोे । अर्कै ग्रहबाट आएजस्ता ! हत्तपत्त दिउँसो बाहिर देखिदैंनथे , बुईंगल वा मतानमा बसेर दिनभर राता गाता गरेका किताब र पत्रिका पढ्थे , छलफल गर्थे । रातीचाँहि एक ठाउँबाट अर्को ठाउँमा जाने , मान्छे जम्मा गर्ने , आफ्ना कुराहरू बताउने , नयाँ नेपाल बनाउने , ठूलासाना सबै बराबर हुने व्यवस्था ल्याउने कुराहरू जोडदार रुपले गर्दथे ।

कुरामात्रै होइन काम पनि तिनीहरू अनौठै गर्थे । कहिले प्रत्येकको घरबाट एकेक मानो चामल ल्याउन लाउँथे र हिते नेपालीको घरमा खान पकाउन लगाएर सामूहिक रुपमा खान्थे । भान्सेको रुपमा तिनै हिते , गोरे , लाले र उनीहरूका जहानलाई खटाउँथे । नाकनिक गर्ने र खान नखोज्नेलाई कोच्याउन समेत लगाउँथे ।

कसैलाई जुवा तासको खालमा भेट्टाए तासै कोच्याईदिन्थे । जाँड रक्सी खाएको फेला पारे रामधुलाई गर्थे । पहिलेका मुखिया र अहिलेका धनाढ्य शोषकहरूबाट अन्नबाली कब्जा , चन्दा उठाएर गरीबको हित हुने काम गर्थे । यस्ता कामले गर्दा ती मान्छेहरू कथित सानो जात भनिएका , गरीब , उत्पीडित र महिलाहरू हृदयदेखि न‌ खुशी थिए भने कथित माथिल्लो जातका र हुनेखानेहरू चाँहि रिसले मुर्मुरिएका थिए।

न घर, न थर बताउने ती मान्छेहरूको नाम पनि अनौठा हुन्थे । कोही आकाश रे कोही बादल कोही सागर त कोही जलजला । नाममात्रै होइन उनीहरूका धेरैथोक अनौठा र राम्रा थिए । दयाराम सरको संगत तिनीहरूसँगै थियोे भनेर सबै गाउँलेलाई थाहा थियोे ।

बेलाबेलामा गाउँलेहरूलाई भेला पारेर ती मान्छेहरू ठूलाठूला सुन्दर सपनाका कुरा गर्थे । जातपात , महिला पुरुषबीचको भेदभाव र धर्म केही मान्दैनथे । हामीले जितेपछि सबै मान्छे बराबर हुन्छन् , ठूलो-सानो , धनी-गरीब भन्ने केही हुदैंन भन्थे । जोशका साथ बोल्थे , मुठ्ठी कसेर अभिवादन गर्थे । तिनीहरूको आत्मविश्वास र हिम्मत देखेर साँच्चिकै केही गरेर देखाउँछन् कि भन्ने आशा सञ्चार हुन्थ्यो , उत्पीडितहरूको रगत उम्लन्थ्यो ।

एक साँझ ति मान्छेहरूको अगुवाइमा गाउँलेहरू सबै भेला भए । मशाल बालेर सयौंको सङ्ख्यामा माईकिङ गर्दै प्रहरी चौकीतिर अगाडि बढे । सुरक्षाकर्मीलाई आत्मसमर्पण गर्न भनियो । दश एघार जना भएको प्रहरी चौकी छाडेर सुरक्षाकर्मी त्यहाँबाट भागे । त्यसपछि चौकी जिल्ला सदरमुकाममा सर्यो , गाउँमा उनीहरूको राज चल्न थाल्यो । दिउँसो पनि निर्ढुक्कसाथ गाउँ बस्ती डुल्ने , जसको घरमा जे पाकेको छ त्यही खाने ! हातमा , पातमा जेमा भएनि हुने साधारण , मिलनसार र मृदुभाषी ति मान्छेले छिट्टै गाउँलेको मन जिते ।

उनीहरूको काम , उद्धेश्य मन परेर गाउँका केही युवायुवतीले पनि घर छोडेर हिडें । कहिले ठूलो समूहमा आउँथे , कहिले एकदुई जनामात्रै पनि झुल्किन्थे । कहिले कैयौं दिन हराउँथे , लामो समय उनीहरूलाई देखेनन् भने गाउँलेहरू न्यास्रो मान्थे र हालखबर सोध्न दयाराम सरकोमा पुग्थे । गाउँले र तिनीहरू सबैका प्यारा र विश्वासिला थिए दयाराम सर ।

काम विशेषले दयाराम सर एकदिन पल्लो गाउँतिर जाँदै थिए । बाटामा अनौठा तर नचिनेका मान्छेहरूसँग जम्काभेट भयो । उनलाई आफ्नै साथी हुन् जस्तो लागेर अभिवादन गरे । त्यसपछि उनले नसोचेको भयो , ति मान्छेले उनलाई कब्जामा लिए र केरकार गर्न थाले । त्यस क्षेत्रका केही मान्छेहरूका नाम , ठेगाना र फोटो समेत देखाएर यो को हो ? के गर्छ ? कहाँ बस्छ ? जस्ता रुखा प्रश्न तेर्साएर गाली गर्न थाले । त्यो लिष्टमा आफ्नो पनि नाम ठेगाना देखेर उनी नराम्ररी झस्के । फोटो हेरेपछि उनलाई तिनीहरूले चिनिहाले । त्यसपछि मानसिक र शारीरिक यातना शुरु भयो उनीमाथि । बचनवाण प्रहार गर्दै , कुटपिट र बुट बजार्दै कठालो समातेर आधाघण्टा पर जंगलको खोल्सामा लगेर कायरहरूले कञ्चटमा गोली हानेर निर्ममतापूर्वक हत्या गरे । गाउँमा मुर्दा शान्ति छायो । तीनदिन पछि शव उठाएर गाउँलेहरूले संस्कार गरे उनको । पूरै गाउँ शोकमा डुब्यो । केही दिनपछि शोकलाई शक्तिमा बदल्नुपर्छ भन्दै केही परिचित केही अपरिचित मान्छेहरू आए ।

समय बित्दै गयो , नयाँ र समुन्नत नेपालको सपना देख्ने देखाउनेहरूले देशको असी प्रतिशत भूभाग ओगटिसकेका थिए । त्यहाँ उनीहरूले समानान्तर सरकार चलाए , देशभर आन्दोलन भयो , सम्झौता भयो , नेताहरू पटकपटक सत्तामा गए । विगतमा बाँडेका सुन्दर सपनाहरू पूरा गर्न नेताहरू लागि परेनन् ।

जनताका महत्वकांक्षा र ठूलाठूला सपनाहरू पूरा हुन नसके पनि गाउँघरमा जातीय भेदभाव , धार्मिक तथा सांस्कृतिक व्यवहारमा आमूल परिवर्तन भएको थियो । वर्गीय रुपमा समेत अधिकांश जनता सचेत भएका थिए । केही कमजोरीका बावजुद पनि मुलुक र जनता आमूल परिवर्तनको संघारमा व्यग्रतापूर्वक उभिएका थिए ।

एकदिन त्यो गाउँमा एउटा पत्याउनै मुस्किल अनौठो घटना घट्यो तर यथार्थ सबैसामू हाजिर थियो । गाउँमा बाउपुस्तादेखि राजनीति गरेर निमुखा जनताको रगत पसीना चुस्न खप्पिस रमेश पार्टीको भेला सिध्याएर घर फर्कदै थियो । पञ्चायत कालमा उसका बाउ प्रधानपञ्च थिए भने बहुदल आएपछिको स्थानीय चुनावमा गाविसमा अध्यक्ष पड्काएको उसले भ्रष्टाचार र अनियमितता बाहेक राम्रो कामको नाममा माखो मारेको थिएन । उल्टै गरीब जनतामाथि शोषण र दमन गरेर बद्नाम भएको थियो । हिड्दै गर्दा साँझ पर्यो तर घरमा आमा बिरामी छन् भन्ने खबर पाएकाले उ हतारहतार लम्किदैं थियोे ।

जंगलबीचको खोल्सो जहाँ दयाराम सरको नृशंशताका साथ हत्या गरिएको थियोे , त्यहाँ आईपुगेपछि उसको आङ ढपक्क फुल्यो , मन डरायो । अचानक बाटा माथिबाट खस्र्याक्क आवाज आयो रमेशको सातो फुत्किन आँट्यो , हंशले ठाउँ छोड्यो । के गर्नु के नगर्नु सोच्नै सकिरहेको थिएन उसले । किंकर्तव्यविमूढ अवस्थामै उसले दौडेर खोल्सो र जंगल काट्यो तर उसलाई पछाडिबाट कसैले पिछा गरिरहेझैं लागिरहेको थियोे र पछाडि नफर्कीकन सकुञ्जेल अगाडि बढ्यो । दौडदाँ र डरले उसका ओठमुख सुकिसकेका थिए , असिनपसिन भएर थकाइले चुर भएको थियो । बसौं भनेपनि पछाडिबाट आएर समाउने हो कि भन्ने डर थियो मनमा ।
००० ००० ०००

दयाराम सरको सम्झना र सम्मानमा गाउँलेहरूले डाँडामा प्रतीक्षालय र सालिक बनाएका थिए । रमेश त्यही बाटो हुदैं घर जानुपर्थ्यो । उसलाई त्यो बाटो हिँड्न मन त थिएन तर अरु उपाय पनि थिएन । दिउँसै पनि त्यो सालिकको छेउमा हम्मेसी जादैंनथ्यो ऊ । प्रतीक्षालयमा गएर बस्न पनि डराउँथ्यो । सिधा नजरले दयाराम सरको निर्जीव सालिकमा हेर्न पनि उसलाई हम्मेहम्मे पर्थ्यो । दयारामको आत्मा त्यही सालिकमा छ झैँ लाग्थ्यो उसलाई ।

डराएर हिँडिरहेको रमेश त्यो सालिकको छेउमा आईपुग्न लागेको थियोे । त्यहाँ मान्छेको गुनुगुनु आवाज आइरहेको जस्तो लागेर त्यता टर्चलाईट देखायो तर कोही नदेखेर झन अचम्मित भयो । त्यहाँ फगत दयारामको सालिक सदाझैं मुस्कुराइरहेको थियो । उसको अघि देखिको डरको मात्रा अझ बढ्यो । चकमन्न , एकदम शान्त वातावरण व्याप्त थियो त्यहाँ । हैन ! अघि यता मान्छे बोलेजस्तो लाग्थ्यो त भनेर चारैतिर मुन्टो फर्काएर हेर्यो कतै केही देखेन । अघि झैँ दयाराम उसैलाई घुरेर हेरिरहेका थिए । उसको होशहवास फेरि उड्यो , त्यहाँ त एक्कासि पाँच छ जना दयाराम भए र ऊ भएतिरै पो आए ।

उसको हंशले ठाउँ छोड्यो , बेहोस भएर ढलुँला झैँ भयो । सपना हो कि विपना हो उसले छुट्याउनै सकेन । ति सबै दयारामहरू लमकलमक गरेर उसको अगाडि आईसकेका थिए , कता जाउँ कता जाउँ भन्दाभन्दै उ कतै जान सकेन । एउटा दयारामले उसको किलकिले समातेर मलाई मार्न लगाउने सुराकी तैं फटाहा होइनस् भनेर गालामा एक चड्कन जमायो । त्यसपछि अरु दयारामहरूले उसलाई भकुर्नुसम्म भकुरे र नजिकैको पीपलको हाँगामा लगेर झुन्ड्याईदिए ।

अहिले गाउँलेहरू रमेश झुन्डिएको खबर पाएर सबै काम छोडेर रमिता हेर्न आएका थिए । वल्लोपल्लो गाउँबाट समेत मान्छेहरूको भीड लागेको थियोे । प्रहरी प्रशासन र नेताहरू पनि आईसकेका थिए । रमेशको निधारमा गाढा अक्षरले ‘सुराकी’ लेखिएको थियो , सर्वसाधारण जनता उसको असामयिक मृत्युमा मनमनै खुशी मनाइरहेका थिए । दयाराम सर उसैगरि सदावहार मन्द मुस्कानसहित मुस्कुराइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News