व्यंग्य : च्याँखुरीलाई रेगिस्तानी चिठी




चर्चित ढुङ्गेल

 

यो रेगिस्तानमा म र मसँगै झण्डै चार लाख नेपाली आरामै छौँ । आशा छ, त्यहाँ पनि तिमीलगायत सम्पूर्ण नेपाली आरामै छौ होला । श्री रेमिट्न्सज्युको खेती गर्ने किसानहरूका कृपाले सवैको कल्याण होस् भनी कामना गर्दछु ।

तिमीले रेडियोमा सुनेका र पत्रपत्रिकामा पढेका घटना झुठा हुन् । तिम्रो भ्रुण नै नबसेको बच्चा र मेरी स्वर्गवासी आमाको कसम ! झुठो लेखेको भए दुवैको सत्यनास होस् । यो रेगिस्तानमा कोही पनि मर्दैन ।

पानीमा डुबेर, सडकमा कुदेर, दुई गाडी जुधेर, सुतेको सुत्यै भएर, विजुली लागेर, जमिनबाट माथि हेर्दा टोपी खस्ने टावरबाट खसेर, शारिरिक र मानसिक पीडा सहन नसकी आत्महत्या गरेर (बिषेशगरि छोरी मान्छेले, एकाध छोरा मान्छेले), ठूला र गह्रौं सामानले थिचिएर आदि कारणले बाहेक कोही नेपाली मरेकै छैनन् । विश्वास गर ।

हामीलाई त मोज छ मोज । कतिसम्म मोज छ भने आजका मितिसम्म हामी कसैका शरिरबाट रगतको त के कुरा, पसिनासम्म झरेको छैन । यो बेग्लै कुरा हो लाटी ! कि रगत र पसिनाले लगाएका लुगा निथ्रुक्क भिजेर शशिरमै सुक्छन् ।

यहाँ त पैसा बोटमा फल्छ । पैसाको बोटमा टुप्पाटुप्पाबाट तेल झरिरहन्छ र बोट हाँगा खुर्केर गाडिएको हरियो बाँस जस्तो भएकाले टिप्न कति सजिलो छ भने सिस्नु टिपे जतिकै । अझ यसरी भन्छु– यहाँ पैसा टिप्न तिमीले सासुका जुम्रा टिपे जति सजिलो छ ।

रेगिस्तान देखेकी छौ ? परार साल कोशीले बगाएको लौकी र पश्चिमकुशाहामा देखिने वालुवाको मैदान जस्तै आँखाले नभ्याइन्जेलको हुन्छ । यहाँ त्यस्तो रेगिस्तानमा धरोधर्म हामीले टेक्नु पनि पर्दैन । हामीले यो रेगिस्तानमा भेडा, बाख्रा, ऊँट, खच्चड आदि चराउनु पनि पर्दैन । तिनिहरू आँफै चर्छन् । यहाँका उजाड स्थललाई फुलैफूलको बगैँचा पनि बनाउनु पर्दैन हामीले । खाली रोपीदिए, गोडीदिए, पानी हालीदिए पुग्छ ।

यहाँ त भेडेटार र पोखराकै जस्तो एकनासको मौसम छ । न जाडो न गर्मी । तेसो त गर्मीमा पचास/साठी डिग्रीमाथिको तापक्रम हुनु र पैसा टिप्दा टिप्दै (काम गर्दागर्दै) बेहोस हुनु त सामान्य नै हो नि !

नेपालका हवाईजहाजमा बाज ठोक्किए जस्तै यहाँका चरा हावामा ठोक्किएर झरेका हुन् । धरोधर्म सातवटा घामका कारण हुँदै होइन ।

मैले ‘मोजमस्ती’ गरेर उब्रेको रकम महिना वितेसी पठाएकै छु । तिमीले पनि त्यो पैसाले मोजमस्ती गर्नु । छोराछोरी नभएकाले तिनको नाममा खर्च गर्ने कुरो भएन । कहिले मेरी सासुका नाममा त कहिले तिम्री सासुका नाममा खर्च गर्नु । अनि कहिले मेरा ससुराका नाममा त कहिले तिम्रा ससुराका नाममा खर्च गर्नु । हप्ताभरिका बजार नछुटाउनु । ‘किनुँ’ लागेका लत्ताकपडा, सरसामान किनिहाल्नु । पोइले कमाएको जोइले खर्च गर्ने रिती नै हो च्याँखु !

तिमीले यहाँको पीर लिनु पर्दैन । यहाँ त मलाई मात्र हैन कसैलाई पनि पीर/पीडा, दुःख/कष्ट, निराशा/उदाशी आदि शब्दको अर्थ थाहा छैन र अर्थ लाउनु पर्ने स्थिति पनि आउँदैन ।

हेर, यहाँ बसुञ्जेल हामी कसैलाई पनि स्वास्नीसँगको न्यानोपनको जरुरत कहिलै भएन र हुँदैन पनि । बाह्रै महिना एयर कण्डिशनले चिसो र न्यानो दुवै दिन्छ । तिम्रा र अन्य लाखौँ नेपालीका सन्तान स्नागृहमा बगेका छन् । च्याँखु ! तिमीलाई पढ्दा अफ्ठ्यारो लाग्ला तर यो सत्य हो ।

तिमीले बरु ढिलो हेर्न पाउँछ्यौ होला तर हामीले त नयाँनयाँ नेपाली चलचित्र नेपालमा चलेको केही दिनमै हेर्न पाउँछौँ । कुनैकुनै चलचित्र त चल्नुअघि नै आइपुग्छन् । कसले ल्याउँदो हो ? ककसले ति बेचेर कति कमाउँदा हुन् ? त्यसको असली हकदारले के कति पाउँदो हो ? थाहा छैन । यस्तै हाल छ यहाँ नेपाली गीतसंगीतको पनि ।

कुनै पसलमा मोवाइल बोकेको देख्यो भने अरु नै कुनै भाषा बोल्नेले भाँचिएको नेपाली भाषामा ‘नेपाली गीत हाल्ने ?’ भनेर सोध्छ । केहीले हालीमाग्छन् । १ जिबीको एउटा ‘सम्झना कार्ड’ भरेको नेपाली चार सय लिन्छन् । तिनले श्रष्टालाई कति देलान् ? तिमी नै अनुमान लगाऊ ।

त्यसो त अचेल यहाँकै साथीभाइका मोवाइलमा फोन गर्दा नेपाली गीत सुन्न पाइन्छ । तिनले कोसँग, कहाँ र कसरी सम्झौता गरेर नेपाली गीत हालेका होलान् ? थाहा छैन । यहाँ नेपाली चलचित्र र नेपाली गीतसंगीतको स्वदेशकै जस्तो कन्तविजोक छ । त्यही भएर गीत लेख्न पनि मन मरेर आएको छ च्याँखु !

तर एउटा आशा लाग्दो कुरो के छ भने यहाँ झण्डै हजारौँको संख्यामा नेपाली ब्यापारीहरू छन् । तर ति निजि कम्पनिमा मालिक र कामदार तिनै एकजना मात्र हुन् । तिनको कम्पनि विहिबार वेलुका र शुक्रबार दिनभरि मात्र खुल्छ । तर हप्ता दिनलाई पुग्नेगरी बिक्री हुन्छ भन्दा तिमीलाई अनौठो लाग्ला । नलागोस् पनि कसरी ? नेपालमा आन्दोलनका बेला विसौँ दिन बन्द हुने र मरेर दश दिन पसल खोल्दा पनि दुई दिनलाई नपुग्ने देखेकी तिमीलाई यस्तो लाग्नु स्वभाविक हो ।

तिनका छोटे कम्पनिमा देशीविदेशी निलादेखि सादा चलचित्रका सिडि, नेपाली गुट्खा, खुकुरी चुरोट, विभिन्न ब्राण्डका खैनी पाइन्छन् । त्यसो त केही ब्यापारीहरूले डाइस खेलाएर ‘स्वस्थ मनोरञ्जन’ दिएका छन् । तर यि सवै कम्पनिहरू गैरकानुनी हुन् । तिनको सम्बन्ध सिधै जेलसँग हुन्छ ।

अन्य कुरा अरु कुनै पत्रमा लेखौँला । तिमीले पनि नेपालको खुटखबर लेखेर पठाउनु । आजलाई यतिमै कलमको मुख बन्द गर्दछु ।

साहित्य संसार

तिम्रो चर्चित

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News