युद्धको घाउ : १२ वर्षपछि कंकाल खोजेर अन्तिम संस्कार !


 


दैलेख, भदौं ११
२०६२ सालमा तत्कालिन माओवादीले गरेको एकतर्फी तीनदिने युद्ध बिरामको अवधिमा तत्कालिन शाही नेपाली सेनाले सञ्चालन गरेको टाइगर ग्रुपबाट मारिएका आफन्तहरुको शव उत्खनन् गरी दाहसंस्कार गर्दै छन् । नारायण नगरपालिका – ३ कि रत्ना रेग्मीको ।

तत्कालिन नेकपा माओवादीका नगर इञ्चार्जका रुपमा कार्यरत् रहेका उदयप्रसाद रेग्मी ‘उत्तम’ को कंकाल निकाली उनी मारिएकै तिथिका आधारमा शुक्रबार हिन्दु परम्परा अनुसार १२ वर्षपछि दाह संस्कार गरिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

युद्ध बिरामको घोषणा पश्चात उनी दैलेख सदरमुकामको कालीमाटीका आफन्त मयाराम कटुवालको घरमा बसेका थिए । २०६२ भदौ २१ को हरितालिका तीजको दिन परेको थियो । तत्कालिन शाही नेपाली सेनाले संचालन गरेको टाईगर ग्रुपले उदय रेग्मीसहित शुकुल सिंहलाई पक्राउ गरेका थियो । पक्राउ पश्चात उनीहरुको शरिरमा १९ राउण्ड गोली हानी मारेका थिए ।

पछि उनीहरुको हत्याको बिरोध भएपछि दोहोरो भिडन्तमा मारिएको भन्दै गलत हल्लासमेत चलाइएको पीडित परिवारले अहिलेपनि गुनासो गर्छन् ।गोली हानी मारिएका सुकुल सिंहको परिवारले पनि गत वर्ष कंकाल लिएर धार्मिक विधिपूर्वक काजकिरिया गरेका थिए भने यो वर्ष उदय रेग्मीका परिवारले काजकिरिया गरेका छन् ।

शान्ति स्थापना पश्चात कैयन पटक आफूले काजकिरीया गर्नुपर्ने सोच राखेको भएपनि सेनाको डरले त्यस्तो गर्न नसकेको र अहिले सपनामा बारम्बार आफ्नो कागकिरीया गरिदिन श्रीमानले माग गरेपछि घर परिवार र गाउँ समाज सवैसँग गुहार मागेर किरिया गरेको उदय रेग्मीकी पत्नी रत्ना रेग्मीले बताईन् ।

मरेको १२ वर्ष पुग्दा पनि उनले लगाएका कपडाहरु जस्ताका तस्तै पाइएको थियो । शरीरको मासु गलिसकेको र टाउको देखि गोडासम्मकै सबै हड्डी मात्र पाइएको रत्नाले बताइन । अहिले माओवादी केन्द्रकी कोषाध्यक्षसमेत रहेकी रत्ना तथा मृतक उत्तमका २२ वर्षीय छोरा देबेन्द्र रेग्मीले किरिया गर्ने बताईन् ।

श्रीमान भूमिगत भएकै कारण रत्नालाई तत्कालिन साही नेपाली सेनाले ब्यारेकमै लगेर निर्मम कुटपिट गर्यो, राष्ट्रिय मानव अधिकार आयोगको टोलीले उनको उद्धार गरेर तीन महिनासम्म उपचार गरेको उनले जानकारी दिइन । मृतक उदयकै कारण उनका बुवाले पनि ६ महिना सेनाको यातना भोग्नु परेको उनी सुनाउँछिन् ।

अनाहकमै चरम यातना दिनेविरुद्ध अहिलेसम्म कुनै कारवाही हुन नसकेको र कुनै पनि राहत प्राप्त नभएको पीडित परिवारको गुनासो छ ।युद्धबिरामको समयमो समयमा तत्कालिन शाही नेपाली सेनाको टाइगर ग्रुपले गरेको सामुहिक हत्यासम्बन्धी अहिलेसम्म कुनै खोजविन नभएको आफन्तहरु गुनासो गर्छन् ।

प्रकाशित मिति: ११ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्