महाधिवेशनले रास्वपालाई थप संस्थागत र लोकतान्त्रिक बनाउने : रवि लामिछाने



चितवन, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले प्रथम महाधिवेशन पार्टीलाई थप वैधानिक, संस्थागत र लोकतान्त्रिक ढङ्गले अघि बढाउने महत्वपूर्ण अवसर भएको बताए।

भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशनअघि बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले पार्टीलाई यहाँसम्म पुर्‍याउन नेता–कार्यकर्ता, सदस्य तथा शुभेच्छुकहरूको महत्वपूर्ण योगदान रहेको बताए।

लामिछानेले विभिन्न सङ्घर्षका बीच पार्टीलाई स्थापित गर्न सफल भएको उल्लेख गर्दै अहिले केही अनुकूल परिस्थिति सिर्जना भएको बताए। देशप्रति माया र जिम्मेवारी बोक्ने सबैप्रति सम्मान व्यक्त गर्दै उनले सभापतिको रूपमा आफ्नो कार्यकालको मूल्याङ्कन पार्टी सदस्यहरूले निष्पक्ष रूपमा गर्ने विश्वास व्यक्त गरे।

उनले मुलुकलाई वर्तमान अवस्थासम्म ल्याउन विभिन्न कालखण्डमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गर्दै पार्टी लोकतन्त्र र सङ्घीयताको मार्गबाट विचलित नहुने स्पष्ट पारे। आन्तरिक लोकतन्त्र पार्टी जीवनको आधार भएको उल्लेख गर्दै सदस्यहरूबीच एकता, सहकार्य र आपसी सद्भाव कायम राख्नुपर्नेमा जोड दिए।

पार्टीभित्र जुनसुकै जिम्मेवारीमा रहे पनि सबैले असल नागरिकको भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले केन्द्रीय सदस्य, साधारण सदस्य वा अन्य कुनै भूमिकामा रहे पनि पार्टीको उद्देश्य र मूल्य–मान्यतालाई आत्मसात् गरेर अघि बढ्न आग्रह गरे।

लामिछानेले पार्टीलाई वर्तमान अवस्थासम्म पुर्‍याउन सहयोग गर्ने केन्द्रीय समिति, नेता, कार्यकर्ता तथा सदस्यहरूप्रति आभार व्यक्त गर्दै कार्यकालको अन्तिम केन्द्रीय समिति बैठकका अवसरमा सबैलाई शुभकामना दिए।

रास्वपाले भरतपुरमा आयोजना गर्न लागेको प्रथम महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको संगठनात्मक संरचनालाई थप सुदृढ बनाउने तयारी गरेको छ।

प्रकाशित मिति: ६ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्