Deshko News
११ आश्विन २०८०, बिहिबार

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कति दल दर्ता भए ? पहिलो नम्बरमा बिजुलीको ग्रीन पार्टी



काठमाडौँ, भदौ १२
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । व्यवस्थापिका–संसद्भित्र र बाहिरका गरी जम्मा ९५ राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको आयोगले जानकारी दिएको छ । आजको गोरखापत्रमा खबर छ ।

मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबारसम्म निवेदन दिन आयोगले समय तोकेको थियो । आइतबार मात्रै ३१ राजनीतिक दलले निवेदन दिएका छन् । दलले आयोगमा बुझाएका कागजातको छानबिन गरी संविधान, ऐन र कानुनअनुसार भए दल दर्ता गरिने जानकारी आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा। आयोधीप्रसाद यादवले निवेदनका लागि आएका कागजातको भदौ २५ गतेभित्र छानबिन पूरा गरी आयोगमा पेस गर्न निर्देशन दिनुभएको छ । आयोगमा दल दर्ताका लागि व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले ७९औँ नम्बरमा निवेदन दिएको छ भने कुमार खड्का अध्यक्ष रहेको अखण्ड पार्टी नेपालले ९५औँ नम्बरमा निवेदन दर्ता गराएको छ ।

आयोगमा दल दर्ताका लागि पहिलो नम्बरमा बिजुलीप्रसाद तिम्सिना अध्यक्ष रहेको ग्रिन पार्टी नेपालले निवेदन दिएको छ । संसद्मा रहेका सबै दलले निवेदन दिएको जानकारी प्रवक्ता शर्माले दिनुभयो ।

प्रवक्ता शर्माका अनुसार व्यवस्थापिका–संसद्मा क्रियाशील रहेका उपप्रधानमन्त्री विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम (प्रजातान्त्रिक), उपेन्द्र यादव अध्यक्ष रहेको सङ्घीय समाजवादी फोरम नेपाल, कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपतिशमशेर जबरा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र विश्वेन्द्र पासवानले नेतृत्व गरेको बहुजन शक्ति पार्टी नेपाल लगायतले दल दर्ताका लागि आइतबार निवेदन दिएका छन् ।

स्थानीय तह निर्वाचनमा सहभागी नभएका दलले पनि प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिनका लागि सहभागिता जनाएका छन् । नेपालको संविधानको धारा २७१ अनुसार २०७४ असार मसान्तसम्म आयोगमा दल दर्ता भएका दलले मात्रै निवेदन दिन पाउनेछन् ।

स्थानीय तह निर्वाचनका लागि ८० वटा राजनीतिक दलले निर्वाचनमा सहभागी हुनका लागि निवेदन दिएकामा ६३ दलले निर्वाचनमा भाग लिएका थिए ।

प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News