खाद्य संस्थानको सिमीमा चार क्विन्टल ढुंगा !


 



काठमाडौं, भदौ १२
खाद्य संस्थानले खरिद गरेको सिमीमा ढुंगा र बालुवाको पनि थुप्रो छ । संस्थानले टेन्डरबाट ७ सय २० क्विन्टल सिमी खरिद गर्दा ४ क्विन्टल ढुंगा, बालुवा भेटिएको हो ।

आपूर्तिमन्त्री शिवकुमार मण्डलले आइतबार संस्थानको थापाथलीस्थित बागमती अञ्चल कार्यालय परिसरमा रहेको गोदाममा आकस्मिक अनुगमन गर्दा खरिद गरिएको सिमी केलाउने काम भइरहेको थियो । सिमी केलाउन अनुमानितभन्दा बढी जनशक्ति लागेको ठेकेदार भगवान गिरीले बताए । ‘मैले सिमी केलाएर बोरामा प्याकिङ गर्ने ठेक्का लिएको छु,’ उनले भने, ‘यो सिमी केलाउन ९ सयजना जति लाग्ने अनुमान थियो, तर १ हजार २ सय ७४ जनाले बल्लतल्ल केलाएर सकियो ।’

ढुंगा, बालुवा र धुलो धेरै भएका कारण केलाउन समय लागेको उनले बताए । उनले सिमी आपूर्ति गर्ने नभई केलाउने ठेक्का मात्रै लिएका हुन् । संस्थानका एक कर्मचारीले टेन्डरबाट खरिद गरिएको सिमीबाट ४ क्विन्टल ढुंगा, बालुवा निस्किएको बताए । ‘टेन्डरमार्फत ७ सय २० क्विन्टल सिमी खरिदका लागि पैसा भुक्तानी भएको छ, तर सिमी त्यति नभई ४ क्विन्टल कम छ,’ ती कर्मचारीले भने, ‘कम भएको ४ क्विन्टलबराबर ढुंगा, बालुवा भेटियो ।’

संस्थानले किनेको सिमी जसमा ढुंगा र बालुवाको थुप्रो छ, केलाउन मात्रै १२ सय ७४ मजदुर प्रयोग भएका छन् । संस्थानले सिमी कति मूल्यमा खरिद गरेको भन्ने कागजात देखाउन सकेको छैन । बिक्री मूल्य भने १ सय ५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । यो मूल्यअनुसार ४ क्विन्टलको ६० हजार हुन आउँछ । सिमी खरिद गर्दा महाप्रबन्धक शिवहरि श्रेष्ठ थिए । उनको कार्यकाल सकिएको छ । ठेकेदारसँगको मिलेमतोमा सिमी नभई ढुंगा, माटो खरिद गरी श्रेष्ठले अनियमितता गरेको मन्त्रालयको प्रारम्भिक निष्कर्ष छ ।

‘सर्सती हेर्दा सिमी खरिदमा गुणस्तर र परिमाण दुवै हिसाबले कैफियत देखिएको छ,’ मन्त्री मण्डलले भने, ‘यो ठेकेदारसँग कर्मचारीको मिलेमतोमै भएको छ । त्यसैले टेन्डरबाट खरिद गर्दाका जिम्मेवार अधिकारीलाई बोलाएर सोधपुछ हुन्छ र कारबाही पनि हुन्छ ।’ उनले सिमीमा ढुंगा, बालुवाको मात्रा धेरै भएको उजुरी आएपछि अनुगमन गरेको जानकारी दिए ।

गोदाममा ७ सय ८ क्विन्टल तिते फापर टेन्डरबाटै खरिद गरी राखिएको छ । त्यसमा पनि अस्वाभाविक मात्रामा धुलो भेटिएको छ । धुलो धेरै र फापर कम राखेर तोकिएको परिमाण पु¥याई अनियमितता गरेको मन्त्रालयको निष्कर्ष छ । संस्थानको बाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले गोदाममा ४० हजार ९ सय ३९ क्विन्टल चामल मौज्दात रहेको जानकारी दिए । न्यौपानेले ढुंगा, बालुवा केलाएर ४० क्विन्टल सिमी बाढीप्रभावित क्षेत्रमा पठाएको जानकारी दिए । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्