डा. केसीले तोके अर्को अनशन बस्ने मिति, यस्ता छन् पछिल्ला पाँच बुँदे माग


 



काठमाडौं, भदौ १३
अनशनको अवमूल्यन हुने गरी काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको र समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाउँदै प्रा.डा. गोविन्द केसीले पुनः अनशनको तयारी गरेका छन् ।

चिकित्सा शिक्षा सुधारको माग राखेर ११औँ पटकसम्म आमरण अनशन बसेका चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. केसीले हालको सरकारी वार्ता टोलीसँग छलफलसमेत नगर्ने बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

केसीपक्षीय वार्ता टोलीका सदस्य डा. अभिशेषराज सिंहले सरकारी वार्ता समितिका संयोजक शान्तबहादुर श्रेष्ठबाट समाधानभन्दा विरोधपूर्ण कार्य बढी भएको आरोप लगाए । ‘डा. केसी हाल बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ । उहाँ काठमाडौं फर्केपछि सम्भवतः २१ भदौबाट पुनः अनशन सुरु हुन्छ,’ सिंहले भने ।

तराईमा आएको विपत्तिजन्य संकटको कारण देखाउँदै केसीले २३ दिन लामो अनशन स्थगित गरेका थिए । उनले तत्काल सम्बन्धन खारेज गर्न माग गरेका छन् । डा. केसीले भनेका छन्, ‘यति लामो समयसम्म प्रधानमन्त्री र शिक्षामन्त्री मौन रहनुले गम्भीर आशंका उब्जाएको छ ।’ गत १२ असारमा त्रिवि कार्यकारी परिषद्ले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको थियो ।

यस्ता छन् डा. केसीका पछिल्ला माग
– काठमाडौं नेसनल मेडिकल कलेजलाई दिइएको अवैध सम्बन्धन तुरुन्त खारेज गर्नुपर्ने ।
– त्रिविले दुरुपयोग गरेका सम्बन्धन, विद्यार्थी भर्ना र शुल्कसम्बन्धी सबै अधिकार आइओएममा तत्काल फर्काइनुपर्ने
– माथेमा प्रतिवदेनअनुसार परिमार्जन गरेर चिकित्सा शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने ।
–त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारलगायत कार्यकारी परिषद्का सदस्यलाई बर्खास्त गरी तत्काल छानबिन र कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने ।
– चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको म्याद तत्काल थपेर काम गर्ने वातावरण मिलाउनुपर्ने ।

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्