निगमको जग्गा खरिद प्रकरण : खड्कासंगै तानिए पूर्वमन्त्री, प्रचण्ड पुत्र पनि सामेल भएको संकेत


 


काठमाडौं, भदौ १४

नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्ति मन्त्री दीपक बोहरासम्म तानिएका छन् । जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ । आजको नागरिकमा खबर
छ।

निगमले खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरेर फर्किएका सांसदले मंगलबार पूर्वमन्त्री बोहराको संलग्नता र घोटाला रकमबारे विस्तृत जानकारी गराएका हुन् ।

निगमका उच्च अधिकारीदेखि जग्गा एजेन्ट, स्थानीय तह, नापी विभाग मालपोतका कर्मचारीसमेतको मिलेमतोमा करोडौं रूपैयाँ भ्रष्टाचार भएको अनुसन्धानमा संलग्न सांसदहरुको ठहर छ ।

निगमले झापा, सर्लाही, चितवन, भैरहवामा दुई अर्ब रुपैयाँको जग्गा खरिद गरेकोमा त्यसको वास्तविक मूल्य भने ५० करोडभन्दा बढी हुने अवस्था नदेखिएको संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सदस्य रामवीर मानन्धरले बताए ।

मानन्धर जग्गा अनियमितता छानबिन समितिका सदस्य हुन् । ‘जग्गा खरिदमा करिब दुई अर्ब रुपैयाँ खर्च भएको देखिए पनि ५० करोड रुपैयाँभन्दा धेरै जग्गाधनीले पाएका छैनन्,’ मानन्धरले भने, ‘डेढ अर्ब रुपैयाँ अनियमितता भएको देखिन्छ ।’

झापामा किनिएको जग्गा हेर्न तत्कालीन मन्त्री दीपक बोहोरा मास्क लगाएर गएको मानन्धरले बताए । ‘मन्त्री नै मास्क लगाएर गएको सूचना हामीसँग छ,’ मानन्धरले भने, ‘प्रधानमन्त्रीका छोराको पनि संलग्ता रहेको सुनियो ।’ सांसद मानन्धरले घुमाउरो रुपमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको पनि संलग्नता रहेको संकेत गरे ।

संसदीय समितिले अनियमितता भएको ठहर गर्दै कारबाहीका लागि सिफारिस गर्दा पनि निगमका कार्यकारी निर्देशक गोपाल खड्कालगयात उच्च अधिकारीलाई निलम्बन नगरिएकोमा सांसदले आपत्ति जनाएका छन् । जग्गा खरिदमा ठूलो भ्रष्टाचार भएकाले संलग्न अधिकारीलाई कारबाही दायरामा ल्याएरै छाड्ने सांसदको अठोट छ ।

प्रकाशित मिति: १४ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्