कस्ता बन्नेछन् प्रदेशसभाहरु ? यस्तो छ व्यवस्था




काठमाडौं, भदौ १६
निर्वाचन क्षेत्र निर्धारण भएपछि अब बन्ने ७ वटा प्रदेशसभाको आकार करिब निश्चित भएको छ । संविधानमा केन्द्रीय संसद् र सातवटै प्रादेशिक सभाको कुल संख्या निर्धारित भए पनि प्रत्येक प्रदेशसभामा कति सदस्य हुन्छन् भन्ने यकिन थिएन ।

क्षेत्र निर्धारण आयोगको प्रतिवेदनले प्रत्येक प्रदेशसभामा प्रत्यक्षतर्फको क्षेत्र निर्धारण गरिसकेकाले त्यस आधारमा त्यहाँ समानुपातिक सिटबाट कति चयन हुन्छन् भन्ने करिब निश्चित भएको हो । समानुपातिकतर्फ कुन प्रदेशका कति सिट हुन्छन् भन्ने क्षेत्र निर्धारण आयोगको प्रतिवेदनमा छैन र निर्वाचन आयोगले पनि भनिसकेको छैन । तर प्रत्यक्षतर्फको सिट निर्धारण भएकाले त्यस आधारमा समानुपातिक सिट प्रत्येक प्रदेशमा कतिरकति पर्छ भन्ने हिसाब निकाल्न सकिन्छ । अाजको कान्तिपुरमा खबर छ ।

प्रतिनिधिसभाका लागि एक सिट बराबर प्रदेशसभामा दोब्बर सिट हुने व्यवस्था छ । संविधानमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने प्रावधान छ । यो प्रावधानअनुसार ३३० प्रत्यक्ष र २२० समानुपातिक गरी सातवटै प्रदेशसभामा ५ सय ५० सांसद चयन हुन्छन् ।

आयोगले छुट्याएको प्रत्येक प्रदेशको प्रत्यक्षतर्फको निर्वाचन क्षेत्रको संख्याका आधारमा तथ्यांक विश्लेषण गर्दा सबैभन्दा ठूलो ११० सदस्यीय सभा प्रदेश ३ मा बन्ने देखिन्छ । प्रदेश ३ मा प्रत्यक्षतर्फ ६६ सिट निर्धारण भएकाले समानुपातिकतर्फ ४४ सिट हुनेछ । दोस्रो ठूलो सभा प्रदेश २ मा बन्नेछ । यहाँ १०७ सदस्यीय प्रदेशसभा हुने अवस्था छ । प्रत्यक्षतर्फ ६४ सिट भएको यो प्रदेशमा समानुपातिकमा ४३ सिट हुने देखिन्छ ।

सबभन्दा सानो सभा भने प्रदेश ६ मा बन्नेछ । प्रदेश ६ मा प्रत्यक्षतर्फ २४ क्षेत्र निर्धारण भएका छन् । यस आधारमा समानुपातिकतर्फ १६ सिट हुने भएकाले ४० सदस्यीय सभा हुनेछ । दोस्रो सानो सभाका रूपमा प्रदेश ७ रहनेछ । यो प्रदेशमा प्रत्यक्षतर्फ ३२ क्षेत्र निर्धारण भएकाले समानुपातिकमा २१ सिट गरी ५३ सदस्यीय सभा बन्नेछ ।

प्रदेश १ मा ९३ सदस्यीय सभा हुन सक्छ । प्रत्यक्षतर्फ ५६ सिट निर्धारण भएकाले यो प्रदेशमा समानुपातिकतर्फ ३७ सिट हुनेछ । प्रदेश ४ मा ६० सदस्यीय प्रदेशसभा हुनेछ । प्रत्यक्षतर्फ ३६ सिट रहेकाले समानुपातिकतर्फ २४ सिट निर्धारण हुनेछ ।

संविधानको धारा १७५ मा प्रत्यक्षतर्फबाट चयन हुने संख्यालाई साठी प्रतिशत मानी बाँकी चालीस प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीबाट सदस्य निर्वाचित गर्नुपर्ने उल्लेख छ । त्यही आधारमा हाल प्रत्येक प्रदेशमा निर्धारित प्रत्यक्षतर्फको सिट संख्यालाई ६० प्रतिशत मानेर बाँकी ४० प्रतिशतका लागि समानुपातिकतर्फ हिसाब निकाल्दा प्रत्येक प्रदेशसभाको आकार पहिचान भएको हो ।

समानुपातिकतर्फको सिट विभाजनका लागि अझै वैज्ञानिक बनाउन ‘सेन्ट लग’ लगायतका गणितीय सूत्रहरू पनि प्रयोग हुन्छ । कुन प्रदेशमा कति सिट पर्छ भन्ने यो सूत्रबाट पनि निकाल्न सकिन्छ । साधारण सूत्रमा दशमलवपछि आउने अंक ५ भन्दा कम छ भने तल्लो अंकलाई नै मान्ने र दशमलवभन्दा पछि ५ भन्दा बढी अंक छ भने त्यसलाई माथिल्लो अंक मान्ने सूत्रबाट गणना गर्दा प्रत्येक प्रदेशका लागि पर्ने समानुपातिक सिटको संख्या निस्कन्छ ।

प्रदेशसभामा समानुपातिकबाट चयन हुने सांसदहरू पनि प्रतिनिधिसभामा जस्तै जनसंख्याका आधारमा छट्याइएका समूहबाट चयन हुनेछ । त्यसका लागि प्रदेशमा उम्मेदवारी दिँदा जनसंख्याका आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुने गरी मिलाएर बन्दसूची पेस गर्नुपर्नेछ ।

केन्द्रीय संसदको प्रतिनिधिसभा २ सय ७५ सदस्यीय हुन्छ । त्यसमा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकबाट ११० जना चयन हुनेछन् । मुलुकभर आएको कुल मतका आधारमा समानुपातिकतर्फको ११० सिटमा विभाजन गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News