सरकारको आग्रह–निर्वाचन आचारसंहिता रोकियोस्, गाह्रो भयो


 



काठमाडौं, भदौ २०
सरकारले निर्वाचन आचारसंहिता केही समय रोक्न निर्वाचन आयोगसँग आग्रह गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकमा मन्त्रीहरूले निर्वाचन आचारसंहिता दसैँसम्म स्थगित गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

निर्वाचन आउन ३५ देखि ४५ दिन बाँकी रहँदा मात्र आचारसंहिता लागू गराउने प्रचलनविपरीत आयोगले आचारसंहिता लगाएको भन्दै मन्त्रीहरूले असन्तुष्टि जनाएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

अकस्मात् लागू भएको आचारसंहिताले सरकारको कामकारबाहीमा गम्भीर असर पारेको, स्थानीय तहमा कर्मचारी खटाउन नसकिएकोलगायत समस्या मन्त्रीहरूले प्रधानमन्त्रीलाई सुनाएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आयुक्तहरूलाई बोलाएर निर्वाचन आचारसंहिता केही समय स्थगित गर्न आग्रह गर्ने जानकारी गराएका थिए । प्रधानमन्त्रीले निर्वाचन आयुक्तहरूलाई बुधबार बोलाएर छलफल गर्ने आश्वासन दिएको महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले बताइन् । मन्त्रीहरूले दसैं पछि मात्र कार्यान्वयन गर्ने गरी हाललाई आचारसंहिता स्थगित गरिनुपर्ने प्रधानमन्त्रीलाई बताएका थिए ।

निर्वाचन आयोगले भने आचारसंहिता एक दिन पनि स्थगित हुन नसक्ने जनाएको छ । आयुक्त सुधीर शर्माले संवैधानिक आयोगले निर्णय गरिसकेको विषय भएकाले अब पछि हट्न नसकिने बताए । ‘संवैधानिक आयोगले आफ्नो अधिकार क्षेत्रभित्र गरेको निर्णयले कसैलाई अप्ठ्यारो भयो कि भनेर पछि हट्न मिल्दैन । आचारसंहिता कार्यान्वयन भइसक्यो,’ उनले भने ।

मन्त्रिपरिषद् बैठकमा निर्वाचन आयोगको पछिल्लो गतिविधिप्रति मन्त्रीहरूले आलोचना गरेका थिए । सरकारले गरेको सचिव सरुवा रोक्ने प्रयोजनसहित आयोगले अकस्मात् आचारसंहिता लागू गरेको भन्दै मन्त्रीहरू असन्तुष्ट देखिएका थिए ।

मन्त्रीहरूले निर्वाचन आयुक्तहरू आफ्नो क्षेत्राधिकारभन्दा बाहिर जान खोजेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । स्वार्थ नमिलेका कर्मचारीलाई आयोगबाट हटाउने र स्वार्थ मिलेका कर्मचारीलाई जसरी पनि टिकाउने गरी आयोग प्रस्तुत भएको भन्दै आयोगको आलोचना गरिएको थियो ।

प्रकाशित मिति: २० भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्