कथा : हर्के


 


माथिल्लो ओँठमा अलिकती सेतो मञ्जन दलेर हर्के उकालो लाग्यो। डेढ महिना भन्दा बढी निरन्तर गैरी खेतको सुसार गरेर भर्खर हिजो मात्र घर निस्किएको ऊ आज शनिबारे हटिया जाँदैथियो।

बिहान सबेरै आमाले अगेनामा झरिले ओसिएको दाउरा झोसेर खँलाती चलाए झैँ निरन्तर ठेलुवाले फुक्दै थिईन र पनि आगो ठ्याँस्स ठ्याँस्स मात्रै गरिराखेको थियो। त्यतिकैमा हर्के पनि एक फेर गाउँ घुमेर आईपुग्यो ।

“आमा, आज बजार जानुपर्ने पैसा देउ है !”

“ह’न तँलाई हप्तै पिच्छे बजार किन मुन्टिनुपर्ने ?

बरु यसो सुहाउँदो बुझ्दो एउटि केटि बिहा गर भन्दा टेर्दैन, अब बजार मात्रै भरिराखेर जुनि कटाउलास नि । छैन पैसा सैसा !”

एकै सासमा आमाको भजन सुन्दा रिस त उठ्यो नै, डेढ महिना खेतमा जोतिएर निस्कँदा नि बजार जाने कुरामा यत्रो खप्कि खाँदा । हुन त अरु दुई जना भाईहरु बिहा गरेर छोराछोरी स्कुल जान थालेको नि ४/५ बर्ष भैसकेको छ।

दिलिप बान्तवा

दुईटै छुट्टिएर गैसकेका छन् । हर्केलाई नि ख्याल पिर छ र त्यसो त ! आमाको कुरा बुझेपछी मुर्मुरिदै बाहिरियो । दैलोको दाहिने भित्ताको चोकेमा वरिपरि धुँवाको कसले कालो भएर बिचमा अलिकती मात्र सिसा देखिने ऐना र थाममा सिउरिराखेको ब्लेड लिएर आँगनको धारामा गयो ।

मनमा कुरा खेलाउँदै दार्‍ही जुँगा खौरिन थालेको थियो सक्ने बेलामा तेर्सो तान्नुपर्ने ब्लेड ठाडो तानेछ, माथिल्लो ओँठबाट त खुन बग्न थालिगो ।

हातले पुछ्यो, खुन छेक्न खोज्यो भएन। तल्लो पट्टि बाँसको टाटिमा सिउरिएको मञ्जन निकालेर दल्यो । एकछिन पोले पनि खुन थामियो । टाँडमा पस्यो । बाकस उघार्‍यो, दुई महिना अघि उँभौलिमा लगाएर त्यतिकै राखेको सर्ट पाईन्ट कच्याककुचुक नै रहेछ ।

निकालेर टक्टकायो अनि लगायो । कपालमा तोरिको तेल दलेर कोर्‍यो। भुईमा झरेर आमालाई फेरि भन्यो, “लु म त बजार हिँडेको पैसा नदिने नै हो आमा ?” आमाको बानी थाहा थियो उसलाई, “कहिलेसम्म मैले नै तँलाई खर्च दिरख्नुपर्ने हो नि !” भन्दै भर्सेलिको सानो हर्पेबाट निकालेर रु. ५०० को नोट दिँदा पो देखिछीन् “लु अझै सम्म दाँत माझेर राम्रो धुनु जान्दैन, आज नि मञ्जन ओँठ्मा बोकेर हिडिस अब” हतार हतार पैसा समातेर “ए बिर्सेछु पो, अब पखाल्छु” भन्दै बाहिरियो हर्के ।

पल्लो गाउँको सुभे हर्केको मिल्ने साथी। उसको ससुराली लेकतिर पर्छ। एकदिन उनकि जहानले एउटि साथिको बेदना सुनाईन् सुभेलाई ।

“बिचरी बिहे नगर्ने भन्दै टार्दै बसिरही। आमा बाउ बिते, दाइ भाइ सबैके बिहा गरे । बिस्तारै भाउजू बुहारिले टेढो हेर्न थाले । अस्ति भेट्दा त निक्कै रोई । मनको पिर कसलाई सुनाउनु र, साथिभाई सबै घरजम गरेर गए, आमा बाउ नि नफिर्ने बाटोमा ।

मर्नु न बाँच्नु भएँ ओई म त भन्दै क्वाँ क्वाँती रोई ।” त्यहिँ रात हर्केको कुरा नि गरे जोई पोईले । अनि निचोड निकाले, दुबैलाई घरजम गराईदिनुपर्छ भनेर ।

सुभेले निक्कै सम्झाई बुझाई गरेपछी हर्केले केटि भेट्न मान्यो, अब केटिलाई फकाउन जाने पालो थियो सुभेको जाहानको। माईत हिँडिन उँभौली शुरु भएको दिन अनि साकेन्वा भर्दै साथिलाई नि लिएर आईन् ।

त्यहिँ साकेन्वामा भेटेर चिनजान, केही दुखुम सुखुम कुराकानी भए। उनिहरु मात्रै भएर नि कुरा गरे। धकाउँदै भए नि निक्कै खुलेर गफिए। अनि चार जना चौरमा बसेर असोजको दोस्रो हप्ता शनिबारे बजारबाट भगाएर ल्याउने सल्लाह नि छिनियो।

हर्के बेँसिबाट घर आउनासाथ सुभेलाई यहिँ कुरामा भेट्न आज बिहानै दौडिएको थियो, तर आमालाई भेउ नै नदिई एकै चोटि बुहारी नै लिएर आईदिने रहर थियो।

यस्तै कुरा खेलाउँदै हातमा सुर्ती र चुना माड्दै सिकुवाको खाटमा बसेको थियो हर्के। भित्रबाट एक्कासी च्याँ….. गरेर नानी रोएको सुनेर बतासिएर भित्र छिर्‍यो। हर्केको आमा भर्खर जन्मिएको नाति हातमा लिएर उज्यालो मुहारले हेर्दै थिइन्। सुभेकी जहान र केही छिमेकी महिलाहरु नयाँ सुत्केरिलाई सुसार गर्दै थिए।

प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्