उपप्रधानमन्त्री गच्छदारलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


 


काठमाडौं, भदौ २४

उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

शनिबार बसेको आयोगको बैठकले उपप्रधानमन्त्री गच्छदारसँगै जलस्रोत राज्यमन्त्री अमर सिंह पुललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले वीरगञ्जमा गाडी तथा मोटरसाइकलहरूको र्‍याली निकालेर निर्वाचन आचार संहिता उल्लंघन गरेको आयोगले जनाएको छ । निर्वाचन आचार संहिता उल्लंघन गरेवापत किन कारवाही गर्न नपर्ने हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगको आग्रह गरेको छ ।

साथै फोरम लोकतान्त्रिकका वीरगञ्ज महानगरका मेयरका उम्मेदवार विमल प्रसाद श्रीवास्तवलाई उम्मेदवारी किन रद्द नगर्ने भन्दै २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ ।

आयोगले जलस्रोत राज्यमन्त्री मा। अमर सिंह पुनले जितपुर सिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिँडेको भन्दै २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: २४ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्