निर्वाचनमा पर्यवेक्षण गर्नलाई आवेदन दिन आयोगको आह्वान


 


काठमाडौं, भदौ २४ ।

मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न चाहने अन्तर्राष्ट्रिय संस्था, समुदाय र व्यक्तिलाई पर्यवेक्षणका लागि आवेदन दिन निर्वाचन आयोगले आह्वान गरेको छ ।

निर्वाचन आयोगले शनिबार एक सूचना प्रकाशित गरी निर्वाचनको पर्यवेक्षण गर्न चाहने संस्था, समुदाय र व्यक्तिलाई यही भदौ २९ गतेदेखि आगामी असोज १४ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन आह्वान गरेको हो ।

आयोगका अनुसार इच्छुक संघसंस्था वा व्यक्ति आफ्नो मुलुकको आधिकारिक निकायमा दर्ता भएको र विगतमा निर्वाचनको पर्यवेक्षण गरेको अनुभवसमेत हुनुपर्ने आयोगले मापदण्ड तोकेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यमा योगदान पु¥याउन आयोगले अन्तर्राष्ट्रिय संस्था तथा समुदायलाई पर्यवेक्षणमा सहभागी हुनका लागि आग्रह गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

पर्यवेक्षण गर्ने इच्छुक संघसंस्था वा व्यक्तिले निर्वाचन आयोगले अन्तर्राष्ट्रिय पर्यवेक्षकका लागि पारित गरेको आचारसंहिताको परिधिभित्र रहेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेछ ।

विश्वका कतिपय मुलुकले राष्ट्रिय, संसदीय वा आमनिर्वाचनमा अन्तर्राष्ट्रिय संस्था र समुदायलाई पर्यवेक्षण गर्न दिने अभ्यास रहेको छ ।

प्रकाशित मिति: २४ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्