कविता–अस्विकार


 


दिलिप बान्तवा

जतिबेला हामी एउटै गाडिमा थियौँ
तिमिलाई ढोकाबाट मुलघाटमा ठेलिझारेर
अहिले भेडेटार उकालोको टर्निङ्गमा पुग्दा
मलाई कुनै ग्लानिबोध भएको छैन।

कुनै दिन तिम्रो आँगनभरिका झाडिहरु फ्याँक्न खोज्दा
हठात् खोस्यौ हँसिया मेरो हातवाट
र भन्यौ,
दुनियाँले मलाई लाज गर्नेछ
थाहा थियो तिमिलाई
अरुलाई देखाउन लायक तिमिमा अरु केही छैन

त्यसैले म चाहन्थेँ कि
त्यो झाडी फाँडेर तिमिले नि संसार देख्नुपर्छ
र आर्जन गर्नुपर्छ केही
जो अरुलाई देखाउन सकियोस्।
तर तिमिले त मलाई त्यहिँ झोरभित्र रमाउने
बनकुखुरो बनाउन चाह्यौ
त्यसैलाई मेरो दुनियाँ भन्ने भ्रम पार्न खोज्यौ
जुन अस्विकर्य थियो मलाई।

तिम्रो घरभित्रको धुँवासो र कटकटिएका खाँबोहरु
पखालेर सुन्दर बनाउँ भन्दा
एक्कासी बर्बराउन थाल्यौ
र भन्यौ, यो यतिकै ठिक छ।
यहाँ भित्रका हरेक चिजहरु
अँध्यारोमा कालै देखिन्छन्

अनि म चाहन्थेँ
त्यो अँध्यारोमा पनि घामको किरण पर्नुपर्छ
र सबै ठाउँमा उज्यालो भेटिनुपर्छ।
धुँवाले लपेटिएका सबैले चम्किनुपर्छ
बाहिर लागेको टन्टलापुर घाम संगै
तर तिमी त अँध्यारोको नियतमा
सबै चिजलाई कालो बनाईरहन चाह्यौ।
तिम्रो नियतमा म
ती कट्कटिएका बर्तनसंगै
धुँवासोयुक्त भैरहनुपर्छ,
जुन अस्विकार्य थियो मलाई।

त्यसैले हाम्रो सहयात्राको गाडी
तम्मोरको तीरै तिर गुडिरहँदा सम्झेँ
तिमिलाई मुलघाट पुलवाट धकेल्दिउँ
तर त्यसो गर्न सक्दिनथेँ,
किनकी तिमी मेरो जिन्दगिको पहिलो प्यार थियौ
त्यसैले वारिपट्टिको चेकपोस्टमा झारिदिएँ।

यतिबेला म
भेडेटारमा चार्ल्स टावरको छत चढेर
एकैसाथ हेरिरहेको छु
पर पर देखिने सप्तकोशिको फैलावट
अनि अझ पर परको मकालु हिमाल
ती सबलाई एउटै क्यानभासमा
अनि तिमी…!
तिमी नि देखिदैछौ
तल लेउती खोलाको बगरमा
एक्लै छटपटाईरहेको…

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्