कथा–सवाना बेगम



शीरदेखी पाउसम्म कालो बुर्काले ढाकिएकी सवाना बेगमले अचानक आफुलाई ह्वाईट गुम्बामा पाईन्। कुरान र नमाजको आवाजमा अभ्यस्त कानले त्रिपिटक र बुद्ध मन्त्रोत्चारण सुन्दै थिईन्। गेरु बस्त्रधारी मंकहरुको हुलमा आफु आफैलाई फरक देखिन् । तर कसैले उनलाई वास्ता गरे झैँ लागेन आफैँलाई।

एकै छिनमा झल्याँस्स सम्झिईन्। रखाईनको त्यो पहाड, साना साना नागी अनि आफ्नै दिवारभित्र भए नि आनन्दले बितिरहेका दिनहरु। उनका अब्बाजानले भन्थे “पुस्तौँ अघिदेखी हामी यहाँ बसेका छौँ, तर राज्यले हामिलाई आफ्नो नागरिक स्विकार्दैन। हामी अबैद्य नागरिक रे आफ्नै जन्मभुमिमा।”

जबदेखी बुझ्ने भईन अब्बाको यो लाचार आवाज उनको लागि छुरा बन्थ्यो। एक दिन उनी मदरसाबाट फर्कदैथिईन् बुर्काभित्र। बुर्काको आँखाबाट देखिन् आगोको लप्कामा लपेटिईरहेको आफ्नै घर, घरभित्र चिच्याईरहेका अब्बा, अम्मि अनि भाइ र देखिन् आगोको परिधी बाहिर पहरा दिईरहेका बर्दिधारिहरुको हुल।

उनको आवाज आफैँ दबियो, अर्थात मुखबाट फुत्किएको आवाजलाई बुर्काभित्रै हत्केलाले थिचेर राखिन्। अनि अघि आएकै बाटोतिर दौडन खोजिन्। अचानक उनको शरीर लल्याकलुलुक भएर आयो। चिच्याउन खोज्दा झसंग ब्युँझिईन्, कपन बालुवाखानी निरको शरणार्थी क्याम्पमा। सपनाबाट ब्युँझिदा उनले देखेको सपना भन्दा अझ कहरलाग्दो बिपना अगाडि ठिंग उभिएको थियो ।

उनले सुनेकी थिईन्, उनका पुर्खाहरु तत्कालिन बृटिश उपनिबेश अन्तर्गत अहिलेको बंगलादेशबाट नयाँ आवादी निर्माण गर्न बर्माको पहाडी क्षेत्रमा ल्याईएका थिए। दोस्रो बिस्वयुद्ध पछि उपनिबेश छाडेर बृटिश आफ्नै देश फर्कियो तर रेहिंग्याहरु त्यतै रहे।

दिलिप बान्तवा

बौद्धमार्गिहरुको बाहुल्यतामा अल्पसंख्यक मुसलमानहरु विभेद र उत्पिडनमा परिरहे। त्यहिँ उत्पिडनको रापमा परेर कहिल्यै आफ्नो गाउँ बाहिर नटेकेकि उनी बंगलादेश देखि भारत हुँदै काठमाडौ आईपुगिन्। रत्नपार्कको आकाशे पुलमा दुई दिन तीन रात गुजार्दा उनलाई त्यति पीडा भएन जति आफ्नाहरु सबै गुमाउदा भएको थियो।

घण्टाघर अघिको जामे मस्जिदमा तेस्रो दिन भौँतारिदै छिरेको बेला अचानक यहिँ क्याम्पको रहिम चाचासंग भेटिईन उनि। र यता आईपुगिन्। रहिम दुई साल अगाडि त्यसरी नै लखेटिएर यता आईपुगेका थिए। दुई दिन पहिला रिजवानहरुले गफ गर्दै गरेको सुनेकी थिईन् गोपिकृष्ण हल चाबेलमा हेरेको नेपाली फिल्म “देश खोज्दै जाँदा” को बारेमा।

भन्दै थिए भुटानबाट पनि यसरी नै लखेटिएर थुप्रै मान्छे आएका रहेछन पहिला, तर कहिल्यै आफ्नो देश फर्किन सकेनन् जति प्रयास गर्दा पनि। अन्तिममा फेरि देश बिहिन भएर धेरै अहिले युरोपको विभिन्न देशमा पुगेका रहेछन र बाँकी नेपाल मै कस्टकर जीवन बाँच्दैरहेछन्। रिजवानहरु तीन बर्ष अघि नै यहाँ आएका थिए।

अहिलेसम्म फर्किने कुनै टुंगो छैन। उनले सम्झिईन् “के हामी पनि उनिहरु जस्तै हुन्छौँ अब, कहिल्यै आफ्नो जन्मभुमिमा नफर्कने गरि यहाँ पुगेका हौँ ?”

सवानालाई छुट्याउनै मुस्किल भयो सपना जस्तै लाग्ने बिपना अनि बिपना जस्तै लाग्ने कठोर सपना। अनि निदाउनै नपाई फुलचोकिको डाँडा रंगिन देखिन थाल्यो तर उनलाई त्यो रंग नि मन नपर्दो लाग्यो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News