कथा–भालेहरु



दिलिप बान्तवा

एक बिहान सबेरै माझ गाउँको सिरानघरमा निक्कै खैलाबैला मच्चियो। तल्लो घर नरेको आमा आँगनमा र माथ्लो घर खान्नुको आमा कोठेबारिमा ओहोर र दोहोर गर्दै जुधुङ्ला झैँ गरेर कराउँदैछन् । मंसिरको ठिहिर्‍याउँदो जाडोमा भर्खर बिउँझिदै गरेको गाउँ दुई जनाको बाझाबाझले ब्युँझेर कचेडा पुछ्दै सिरानघरतिर चिहाउँदैछ।

कुरो बुझ्दै जाँदा, खान्नुको बाउको साया भाले गाउँभरिको दादा थियो। अरु भालेहरुलाई ढिम्किनै नदिने। साना चल्ला ठुङ्नेहरुलाई त खेदेरै दोहोलो काड्ने, अनि पोथिहरुलाई अनावस्यक झिँजो लगाउने सिकारु भालेहरुलाई पनि तह लगाउँथ्यो। कहिलेकाँही कुनैले जुध्ने आँट गर्थे तर त्यसको अजंगको ज्यानले एक किक मार्दा उछिट्टिहाल्ने ।

गाको हप्ता शनिबारे हटियादेखि नरेको आमाले पित्रामा चलाउनुलाई निक्कै गतिलै भाले किनेर ल्याएकी थिइन् । घरमा नरेको बाउको नि साया भाले थियो तर अलि भर्खरको। त्यही पनि खान्नुको बाउको भालेसंग जोरि खोजिराख्थ्यो, तर देख्ने बित्तिकै कुलेलम ।

दुई तीन दिन संगै बसेपछी ती दुई साथी भए । कुखुराहरु मान्छे भन्दा अघि नै चर्न गैसक्छन यहाँ। त्यो बिहान पनि नरेको आमाको दुईटा भाले माथ्लो कान्ला चढेर निहुँ खोजेछन् । खान्नुको आमाको भाले नि जुध्न सुरिएर आयो। दुईटा धुरिएपछी के लागोस र१ बिचरा थाक्यो, हार्‍यो, मुन्टो जोगाउँदै भाग्यो।

दाउराको थुप्रो, परालको कुन्यूँ कतै पनि धर पाएन। रगताम्मे भयो। त्यतिकैमा खान्नुको आमाले देखिन्। उनलाई लाग्यो, त्यो भाले होईन आफ्नै लोग्ने रगत पच्छे भएर आलस तालस भएको छ। बर्षौँ देखि परदेशिएको लोग्नेको साया भालेलाई उनकै प्रतीक मान्थिन उनी र सार्‍है माया गर्थिन। कहाँबाट रिस सोहोरिएर आयो उनलाई अनि कराउन थालिन् निक्कै नमिठो बचनले ।

अनि ढुंगा झटारो जे भेटिन त्यसैले तारो हान्न थालिन धुराहा भालेहरुलाई। टुप्लुक्कै नरेको आमा पनि खरेटो बोकेर आँगनमा निस्किदा त्यो दृश्य देखिन्। उनलाई नि लाग्यो खान्नुको आमाले भालेलाई होईन भर्खर तीन महिना अघि मात्र छुट्टी सकेर अरब फर्किएको लोग्नेलाई नै झट्टिले हानेको आभास भयो। अनि त के चाहियो र, दुई जना पाखुरा सुर्कासुर्की र बाझाबाझ शुरु भईगयो।

त्यो गाउँमा ती दुई जना भित्रीएदेखी आजसम्म तितो पिरो कहिल्यै भएको थिएन दुई जनामा। शनिबारे हाट हप्तैपिच्छे पैकार गर्न जान्थे मिलेर। मेलापात, बन(जंगल, अर्मपर्म, निम्तो सबैतिर दुई जना कहिल्यै छुटेका थिएनन्। तिनका लोग्नेहरु नि एकै साल साउदी गएका थिए आठ बर्ष पहिला। खान्नुको बाउ पोहोर आएर २ महिना बस्यो। नरेको बाउ यो पल्ट आएथ्यो।

नरे अर्थात नाम नरेन्द्र, तर सबैले नरे भन्दा कम्ता रिस उठ्दैन। सबैको मुखमा त्यहिँ बसेपछी के गरोस र१ नरे १५ बर्षको छ। उसको एउटा भाइ छ, ११ बर्षको। फेरि यो पाली बाऊ छुट्टिमा आएर फर्किए पछि आमा दुई जिउकी भएको कुरा भर्खर थाहा पाएदेखी साथिहरु माझ अलि लाज लाग्दै थियो उसलाई ।

उता खान्नुको नाम खान्नुहाङ्ग। स्कुलमा सबैले ूखान्ू भन्दै त्यसको अर्थ राई भाषामा लगाएर अरुले जिस्काउँदा कम्ता रिसाउँदैन उ पनि। उसको नि एउटि बहिनी छ ९ बर्षको। खान्नु र नरे एक दामलका हुन्। तिनको दोस्ती नि हेर्न लायक कै थियो। भालेको निहुमा बाझेका तिनका आमाहरु केही आपसी लेनदेनमा पनि भित्र भित्र चित्त नबुझाईरहेको बुझियो। गाउँकाहरु भेला भएर दुबैलाई सम्झाई बुझाई गरेर तत्काललाई साम्य बनाए।

आमाहरु बाझे देखि छोराछोरिहरुलाई नि संगै हिड्डुल र बोलचालमा प्रतिबन्ध लाग्यो। आफ्नो आमालाई गाली गर्नेको छोराछोरिसित अलि अलि रिस पनि उठेकै हो। अब बाटो फरक, हिडाई फरक, व्यवहार फरक, दैनिकी फरक। मानौँ यी दुई घरका मान्छेहरु कुनै दुई फरक ग्रहकाहरु हुन् जसले कसैलाई चिन्दैनन् अनि जरुरी नि देख्दैनन्।

खान्नु भलिबलको राम्रो सटर। अनि नरे उसको बेस्ट लिफ्टर। यी दुईको टिमलाई हराउन निक्कै पर गाउँदेखी नि खेल्न आउँथे। तर कहिल्यै जितेनन्। नरेले जस्तो खालको रिसिभ पनि खान्नुको लागि उपयुक्त ठाउँमा उठाईदिन्थ्यो । खान्नुको सट हतपत ब्लक नै हुदैन भन्थे। उता स्कुलमा पनि उनिहरुको जोडिलाई धेरै कुरामा सरहरुले उदाहरण दिन्थे। सहयोगी, भद्र, ईमान्दार, मेहनती, सरल यस्तै यस्तै ।

तर अब त्यो समय रहेन। भलिबलको टिममा खान्नु र नरे एउटै टिममा नभएपछी निक्कै खेप बाजि हार्‍यो उनिहरुको टिमले। सटर र लिफ्टरको तालमेल नमिल्दा आफैँ रिसिन्थे, अनि सम्झिन्थे एकले अर्कालाई। अरु केटाहरु नि दिक्क मान्थे निरन्तरको हारले। नखेलुँ त ईज्जतको कुरा खेलुँ त हारिराख्ने। अब नरे र खान्नुलाई मिलाउने काममा लागे केटाहरु।

उनिहरु नि बोल्न र मिल्न नचाहेको कहाँ हुन र तर ४र५ महिना सम्म छुटेको साथ फेरि पुरानै बनाउनु अप्ठ्यारो थियो। एकदिन तीन वटा जम्बो कोक किनेर केटाहरुले दुबैलाई संगै राखेर बोल्ने बनाए। उनिहरुमा केही मनोमालिन्य थिएन, औधी खुशी भए। तर आमाहरुलाई थाहा नदिने शर्त नि थियो उनिहरुको।

उँधौली छेक देखि बोलचाल बन्द भएको तल्लो घर माथ्लो घर उँभौली आउने बेलासम्म नि उस्तै छ। भित्र कता कता भने नबोलेकोमा सार्‍है पिरलो लागेको छ नरेको आमा र खान्नुको आमालाई। बाटोघाटो, हाट बजार, पँधेरा जहाँ भेटे नि नदेखे जस्तो गर्दा कम्ता औडाह लाग्ने थिएन। तर दुबैको अभिमानले थिचिएका थिए आफै आफैमा।

एक बिहान नरेले खान्नुलाई सुटुक्क बोलाएर भन्यो, “मेरो आमालाई बेथा लागे जस्तो छ यार, तेरो आमालाई भन्दे न।” “लु जाऊँ दुबैले भनुम न त..” खान्नुको प्रस्ताबमा दुबै घर गए नरे आँगनमै उभियो, खान्नु भित्र गएर आमालाई भन्यो। नरे र खान्नु संग संगै हुर्किएकोले आफ्नै छोरो जस्तै लाग्थ्यो नरे खान्नुको आमालाई। कुचुक्क परेर आँगनको एक छेउमा उभिएको नरेलाई देखेर मन नमिठो भयो उनको।

“ल हिँड मोरा अघि भन्नुपर्दैन मलाई..!” भन्ने गुनासो गर्दै हिँडिहालिन् तल्लो घरतिर। लगभग छ महिनापछी फेरि उहीँ संघारमा टेक्न पुग्दा मनमनै खुशी नि थिईन उनी। भित्र केही महिलाहरु भेला भएर नरेको आमालाई सुत्केरी गराउन आफुले जानेको सीप प्रयोग गर्दैथिए ।

खान्नुको आमा महिला स्वास्थ्य स्वयंसेविका भएकोले केही प्राविधिक ज्ञान् उनमा थियो। अर्धचेत भैसकेकी नरेको आमाले आफ्नै अंग जत्तिकै लाग्ने साथिलाई छ महिनापछी आफ्नै अगाडि आफुलाई आड र भरोसा दिइरहेको देख्दा पीडा र छट्पटी पनि गायब भए झैँ लाग्यो। दुई घण्टा जतिमा छोरी जन्मिईन।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News